Logo

सम्हालिदै शेयरबजार, आइतबार २४ अंकले घटेको नेप्से सोमबार ३ अंकमा सिमित



चैत १९, काठमाण्डौ । आइतबार दोहोरो अंकले घटेको शेयर बजारमा सोमबार सम्मालिदै भने झिनो अंकले घटेको छ । सरकारले श्वेतपत्र सार्वजनिक गरेपछिको पहिलो कारोबारको दिन आइतबार २४ अंकले घटेको नेप्से सोमाबार भने तीन दशमलब दुई आठ अंकले घटेको हो । कारोबारमा आएका नौवटा समुहमध्ये फाइनान्स समुहको सुचक बढेको छ भने बाँकी आठ समुहको सुचक घटेको छ ।

सोमबार शेयर बजार केही सम्हालिएको छ । नेप्से सूचक सोमबार ३.२८ अंकले घटेर ११९२.९६ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.२७ प्रतिशतले घटेको हो । सोमबार ‘क’वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६८ अंकले घटेर २५५.०१ अंकमा ओर्लिएको छ । कुल १५६ कम्पनीको १० लाख ७० हजार १ सय ९२ कित्ता शेयरहरुको खरिदविक्री भएको छ । आइतबार ३१ करोड २३ लाख रुपैया बराबरको कारोबार भएको बजारमा सोमबार कारोबार रकममा गिरावट आएर ३ हजार ७ सय ५१ पटकको कारोबारबाट २० करोड ५९ लाख ३९ हजार ३ सय १५ रुपैयाँ बराबरको कारोबार भएकोछ ।

सोमबारको कारोबारमा फाइनान्सबाहेक कारोबारमा आएका सबै समूहका सूचक राता भएका छन् । फाइुनान्स समूह भने ३.४७ अंकले बढेर ६ सय ३९ दशमलव ७९ अंकमा बन्द भएको छ । सोमबार सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक ३३.४८ अंकले घटेको छ । त्यसैगरी १ दशमलव ९६ अंकले बाणिज्य बैक, १६ दशमलव ५४ अंकले होटल, ३ दशमलव ६४ अंकले विकास बैक, ६ दशमलव २४ अंकले जलविद्युत समूहको परिसुचकमा गिरावट आएकोछ ।

त्यसैगरी ३३ दशमलव ४८ अंकले उत्पादन तथा प्रशोधन, शून्य दशमलव ६ अंकले अन्य र ५ दशमलव २६ अंकले लघुवित्त समूहको परिसुचकमा गिरावट आएको छ । सोमबार कारोबार रकममा स्टान्डर्ड चार्टर्ड बैंकले अग्रता लिएको छ । चार्टर्डको १ करोड २३ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र नबिल बैंक परेका छन् ।

पूजीबजारमा सानो सानो कुराले प्रभावित पारिरहेको हुन्छ । शुक्रबार श्वेतपत्रमा शेयर बजार सतही र पारदर्शी नभएको उल्लेख हुँदा आइतबार लगानीकर्ता केही आत्तिएकाले बजार दोहोरो अंकले घटेको थियो । तर श्वेतपत्रमा सतही र पारदर्शी नभएको भनिए पनि ठूला लगानीकर्ताले श्वेतपत्रले शेयर बजारको वस्तुनिष्ट मूल्यांकन गरेको भन्दै सकारात्मक व्याख्या गरिरहँदा सोमबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

पछिल्लो समय शेयरको आपूर्ति र मूल्य निकै कम भएका कारण पनि बजारमा कारोबार रकम घटेको छ । सोमबार कारोबार खुलेको पहिलो १५ मिनेटमा बजार दुई अंकले घटेको थियो । त्यसपछि सुधार देखिएको बजारले पहिलो एक घण्टामा तीन अंकको वृद्धिसँगै ११९९ अंक भेट्टाएको थियो । तर वृद्धि टिकाउ हुन नसक्दा बजार पुनः दोस्रो घण्टामा घटेर ११९१ अंकमा ओर्लिएको थियो ।

अन्तिम समयमा सामान्य देखिएको बजार अन्तमा झिनो अंकको गिरावटसँगै बन्द भएको हो । सोमबार सबैभन्दा धेरै स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयर धनीले ८.८९ प्रतिशत कमाएका छन् भने ग्लोबल आईएमई समून्नत स्कीम १ का शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्