Logo

हामी सरकारमा सहभागि हुने/नहुनेबारे प्रधानमन्त्रीलाई सोध्नुस : यादव



चैत २०, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कहिले सरकारमा जाने भन्ने विषय प्रधानमन्त्री केपी ओलीलाई सोध्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले आफुहरु सरकारमा कहिले जाने भन्ने विषय प्रधानमन्त्री ओलीमा निर्भर रहेको बताए ।

संविधान संशोधनका मुद्दामा मुखले लचकता देखाए पनि व्यवहारिक रुपमा प्रधानमन्त्री प्रतिवद्ध हुन नसकेको यादवको भनाई छ ।

प्रधानमन्त्रीलाई मतदान र समर्थन सदासयताका लागि गरिएको स्पष्ट पार्दै यादवले सरकारमा सहभागि हुने विषय फरक रहेको बताए ।

सरकारमा जाने विषयमा अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पार्दै यादवले छलफल मात्रै भएको बताए ।

पार्टीभित्रको आन्तरिक द्धन्द्धका कारण सरकारमा सहभागि हुन समस्या भएको हो भन्ने धमलाको प्रश्नमा यादवले भने, “पार्टीभित्र कुनै द्धन्द्ध छैन । यो वाइयात प्रायोजित प्रचारबाजी हो । सरकारसँग सहमति भएपछि सरकारमा सहभागि हुन एक सेकेण्ड पनि लाग्दैन ।”

प्रधानमन्त्री ओलीको भारत भ्रमणका सन्दर्भमा कुरा गर्दै यादवले दुई देशबिचको सम्बन्ध राम्रो बनाउनका लागि प्रयास हुनुपर्ने सुझाब दिए । “विदेशको सम्बन्ध सबैको सरोकारको विषय हो । अन्तराष्ट्रिय ममला हो । विश्वासको वातावरण बनोस् ।” यदवले भने ।



प्रतिक्रिया दिनुहोस्