Logo

श्वेतपत्रबारे कांग्रेस–माओवादीद्धारा अर्थमन्त्रीको आलोचना, समस्या मात्रै देखाइएको आरोप



चैत २०, काठमाण्डौ । केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको श्वेतपत्रलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादीले केन्द्रले आलोचना गरेको छ ।

नेपाली कांग्रेसले श्वेतपत्रका नाममा सरकार अरुको टाउकोमा दोष थोपर्न उद्दत भएको आरोप लगाएको छ ।

सोमबार संसदमा विशेष समय लिएर प्रमुख विपक्षी दल कांग्रेसका सांसद मिनेन्द्र रिजालले अर्थमन्त्री डा. युवराज खतिवडाले आफू चोखिने गरी आरोप मात्रै लगाएको आरोप लगाए ।

अर्थतन्त्रको परिस्थिति कहाँ छ भनेर श्वेतपत्र ल्याउनु सकारात्मक भए पनि समस्यामा मात्रै केन्द्रित हुन खोजेको रिजालको आरोप छ । कहिले ५ त कहिले २५ वर्षको तथ्यांक राखेर दोष कसको टाउकोमा हाल्ने भन्नेमा अर्थमन्त्री केन्द्रित भएको रिजालको आरोप थियो ।

अर्थतन्त्रमा कमजोरी रहेको स्वीकार गरे पनि समस्याको कारणबारे विभिन्न पक्षलाई आरोप लगाउनु गलत भएको रिजालको भनाई थियो ।

तीन चौथाइ समर्थनको सरकार रहेको र विपक्षी सहयोग गर्न तयार रहेको भन्दै उनले त्यसलाई सदुपयोग गर्न आग्रह गरे ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि अर्थमन्त्रीले समस्यामा केन्द्रित रहेर श्वेत पत्र सार्वजनिक गरेको आरोप लगाएको छ । केन्द्रकी प्रवक्ता पम्झा भुसालले श्वेतपत्र बढि नकारात्मक भएको बताइन् ।

देशको अर्थतन्त्रमा समस्या भए पनि अर्थमन्त्रीले आर्थिक रुपमा संकटग्रस्त र असफल राष्ट्रको रुपमा चिनाउन खोजेको आरोप भुसालले लगाएकी हुन् ।

समस्या समाधानका बाटो र विकल्प श्वेतपत्रमा उल्लेख नगर्नुले समस्या थप बढेको भुसालको तर्क थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले गत शुक्रबार श्वेतपत्र सार्वजनिक गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्