Logo

एकता प्रक्रिया अघि बढ्यो, अब चलखेलले रोकिँदैन : प्रचण्ड



काठमाडौं, २१ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन् ।

बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको उनको भनाई थियो ।

उनले भने,‘पार्टी एकता प्रक्रिया सहजढंगले अघि बढिरहेको छ, हिजोमात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतऐक्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो( ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं ।’

पार्टी एकता हुन नदिन भित्र र बाहिर दुवैतिरबाट चलखेलहरु भएको उनको आरोप थियो । यद्धपी उनले ती चलखेलहरुले एकता नरोकिने जिकिर गरे ।

प्रचण्डले अघि थपे, ‘तपाई सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्नेगरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।’

 



प्रतिक्रिया दिनुहोस्