Logo

पूर्वप्रधानमन्त्रीहरुद्धारा प्रधानमन्त्रीलाई सुझाव : सम्झौता कार्यान्वयनमा जोड र राष्ट्रिय हितलाई ध्यान दिनुहोस्



काठमाडौं, २१ चैत । पूर्वप्रधानमन्त्री, प्रवुद्ध बर्ग र परराष्ट्रविद्हरुले विगतमा भारतसँग भएका द्विपक्षीय सम्झौता कार्यान्वयनमा जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे सुझाव दिन बुधबार आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा उनीहरुले पुराना सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।

उनीहरुले पुराना सम्झौतामा समस्या देखिएको बेला नयाँ सम्झौता नगर्न पनि सुझाव दिएका छन् । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणलाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भिरतापूर्वक लिएको बताए ।

बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएको बताए ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्दलगायत थिए । आजको परामर्श बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने बैठकमा सहभागी थिएनन् ।

त्यस्तै आजको छलफलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रवुद्ध वर्गका सदस्य तथा परराष्ट्र मामिलाका जानकार भेषबहादुर थापा, निलाम्बर आचार्य लगायत पनि थिए ।



प्रतिक्रिया दिनुहोस्