Logo

प्रधानमन्त्रीले भारत भ्रमण टोलीबाट उद्योगपति चौधरीको नाम काटे



काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी ओलीको चैत्र २३ गतेदेखि हुने तीन दिने राजकीय भारत भ्रमणको टोलीबाट नेपालका एकमात्रै खर्बपति रहेका सांसद विनोद चौधरीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका छन् ।

प्रधानमन्त्रीको ‘डेलिगेसन’ टोली कम्तिमा पनि ५० जनासम्म हुने तय भएको छ । टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, मिडियाका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायत गरेर ५० जनासम्मको हुने भएको हो ।

यो टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् । यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो ।

सूत्रहरुले दिएको जानकारी अनुसार भारत भ्रमणमा आफू पनि सहभागी हुने भन्दै चौधरीले प्रधानमन्त्रीसँग आग्रह नै गरेका थिए । तर यसपटक प्रधानमन्त्रीले चौधरीलाई भ्रमण टोलीमा सहभागी नै नगराउने निर्णय गरेका छन् । चौधरीले कांग्रेसको तर्फबाट आफूपनि सहभागी हुने भन्दै डेलिगेशनम सहभागी गराउन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले भने उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघबाट समेट्ने भन्दै चौधरीलाई लैजानै चाहेनन् ।

स्रोतका अनुसार भारतसँग आफ्नो धेरै राम्रो सम्बन्ध छ भनेर चौधरीले बोल्ने गरेका थिए । यतिसम्म कि चौधरीले भारतीय नेताहरुसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताउँदै आएका छन् । तर यसपटक प्रधानमन्त्री ओलीले उनलाई सहभागी गराउँदा भ्रमण नै असफल हुनेसक्ने आशंका गर्दै चलाखीपूर्ण ढंगले चौधरीको नाम हटाईदिएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग भनेका छन्,‘चौधरीलाई सँगै लैजाँदा भ्रमण नै असफल हुनसक्छ, त्यसैले उनलाई नलैजाँदै बेश हुन्छ।’



प्रतिक्रिया दिनुहोस्