डाक्टर र बिरामी तथा उनका आफन्तबीचको संवादमा रहने रिक्तता हटाएमात्र सुमधुर सम्बन्ध निर्माण हुन सक्छ ।
डा. चक्रराज पाण्डे :
चाहिन्छ संवाद
डाक्टर र बिरामी तथा बिरामीका आफन्तबीच बेलाबेला विवाद सिर्जना हुने गरेको छ । यस्ता विवादले नेपाली स्वास्थ्यसेवा क्षेत्र नै समयसमयमा संकटमा फस्ने गरेका छन् । कतिपय अवस्थामा डाक्टरहरूमाथि हातपात समेत हुने गरेको छ । यो डाक्टर र बिरामी तथा बिरामीका बीच पर्याप्त संवाद हुन नसक्दा भएको हो । डाक्टरसँग आइपुगेका सबै समस्याहरू समाधान हुन्छन् भन्ने हुँदैन । सबै समस्याको समाधान त कसैले पनि गर्न सकेको छैन । राम्रो गर्छु भन्दाभन्दै पनि सयमा एक/दुई केशमा समस्या आउन सक्छ । तर, केसको जटिलता यस्तो हो भनेर बिरामी र आफन्तलाई बुझाउने पहिलो जिम्मेवारी डाक्टरको हो । यस्तो संवादमा डाक्टर र बिरामी दुवै पक्ष इमानदार हुनुपर्छ । त्यस्तो इमानदारीले मात्र विश्वास सिर्जना गर्छ । आपसी विश्वासले दुवै पक्षमा आत्मविश्वास निर्माण गर्छ । त्यसपछि मात्र स्वास्थ्यजाँच वा अप्रेसन अघि बढाउनु उचित हुन्छ ।
पहिला स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरूमा पर्याप्त चेतना हुँदैनथ्यो । त्यसले पनि संवादमा समस्या सिर्जना गरेको थियो । परिवर्तित समयसँगै अहिले सेवाग्राहीहरूको चेतनास्तर बढेको छ । पहिला डाक्टरले जे गर्दा पनि प्रश्न नगर्ने संस्कार थियो । अहिले प्रश्न गर्ने क्षमताको विकास भएको छ । डाक्टरको नियतको पनि विश्लेषण गर्न सक्नै चेतनास्तर विकास भएको छ । प्रायको परिवार, नातागोता वा चिनजानमा कोही न कोही डाक्टर छन् । स्वदेश वा विदेशमा रहेका आफ्ना मान्छेलाई सोध्ने वा गुगल सर्च गरेर भए पनि जानकारी लिन सक्ने सुविधा छ । त्यसैले डाक्टरले केही पनि कुरा लुकाउनु हुँदैन । बिरामी र उसको आफन्तलाई प्रस्टसँग सबै विवरण बताउनुपर्छ । आफ्नो धारणा राखेर छलफल गर्न वा कुनै अस्पतालमा गएर डाक्टरसँग सल्लाह गरेर खबर गर्नुहोस् भन्न सक्नुपर्छ । डाक्टरले बलजफ्ती गर्नु प्रत्युत्पादक हुन सक्छ ।
एक डाक्टरले जहिल्यै सम्झिरहनुपर्छ ऊ र बिरामीबीचको सम्बन्ध एकदिनको होइन । चिकित्सकीय अभ्यास रहँदासम्म बिरामी र उसका आफन्तसँग सुमधुर सम्बन्ध निर्माण गर्न तल्लिन हुनैपर्छ । सम्बन्ध सुमधुर बनाउने केही तरिकाहरू छन् । बिरामीलाई समयमा हेर्ने, आवश्यक सल्लाह दिने, बिरामीको कुरा ध्यान दिएर सुन्ने, रोग र उपचारबारे बुझ्नेगरी बताउने आदि । कतिपय रोगको उपचार पद्धति सजिलो हुन्छ । तर, अप्रेसन गरे पनि हुने र नगर्दा पनि खासै फरक नपर्ने खालका समस्यामा भने दोधार सिर्जना हुन्छ । त्यस्तो बेलामा डाक्टरले काउन्सिलिङमा जोड दिनुपर्छ । त्यस्तै अप्रेसन गर्नैपर्ने खालको आपत्कालीन अवस्थामा बिरामी र आफन्तलाई सबै परिस्थिति र सम्भावनाबारे विस्तृतरूपमा बुझाउनु पर्छ । यस्तो संवादको बेला बुझाइमा कठिनता आउन सक्छ । डाक्टर र बिरामी तथा उसको आफन्तको पृष्ठभूमि फरक हुन्छ भन्ने बिर्सनु हुँदैन । डाक्टरले प्रयोग गर्ने शब्द र बिरामीले प्रयोग गर्ने शब्दमा फरक हुन्छ । त्यसैले बिरामी र डाक्टरबीच एउटा रिक्तता भइरहेको हुन्छ । त्यो रिक्तता हटाउनु नै संवादको सबैभन्दा ठूलो चुनौती हो ।
डाक्टर र बिरामीबीच सञ्चारसम्पर्क र काउन्सिलिङ एकदमै महŒवपूर्ण छ । बिरामीको बुझाइअनुसारको काम भए त ठिकै छ । उसको बुझाइअनुसारको नतिजा दिन सकिएन भने द्वन्द्व सुरु हुन्छ । त्यस्तो अवस्थामा डाक्टरले दिने नतिजामा भर पर्छ । डाक्टरले जे बुझाए पनि नतिजा राम्रो आयो भने समस्या सकिन्छ तर राम्रोसँग काउन्सिलिङ गर्दागर्दै पनि नतिजा अनपेक्षित भयो भने समस्या सिर्जना हुन्छ । त्यस्तो अवस्थामा द्वन्द्व सिर्जना हुने सम्भावना हुन्छ । अस्पतालमा प्रवेश गरेपछि बिरामीले निको हुन्छु भन्ने सोच राख्नु सामान्य हो । निको नहुने हो भने डाक्टरलाई किन भेट्ने ? तर डाक्टरले कुनै रोग उपचार हुनसक्छ सक्दैन, निराकरण प्रक्रियाबाट के कस्ता नतिजा आउन सक्छन् भनेर बताउन सक्नुपर्छ ।
चिकित्सामा समस्या
डाक्टरहरू विवादित हुनुको अर्को कारण उनीहरूमा आएको सोच हो । पहिला डाक्टर भन्नासाथ सम्मानभावले हेरिन्थ्यो । त्यतिबेला डाक्टरहरू आर्जनमुखीभन्दा सेवामुखी बढी थिए । २० वर्षअघिसम्म डाक्टरहरूमा भव्य घर बनाउने, महँगो गाडी खरिद गर्ने भन्ने सोच आउँदैनथ्यो । अहिले अन्य पेसामा जस्तै चिकित्सामा पनि सेवाभन्दा कमाउलाई प्राथमिकता दिन थालिएको हो कि भन्ने अनुभूति हुन्छ । डाक्टरी पेसालाई कमाउ पेसा बनाउन हुँदैन । यो आम जनताको जीवनसँग सम्बन्धित छ त्यसैले यसलाई प्रदूषित हुन दिनु हुँदैन ।
अर्को समस्या चिकित्सा शिक्षामा घट्दो गुणस्तर हो । जनसंख्या बढ्दो छ । त्यसै अनुरूप चिकित्सकको संख्या पनि बढ्नु आवश्यक छ । तर, शिक्षाको गुणस्तर घट्न भएन । स्वदेशमा होस् वा विदेशमा अध्ययन गरेका डाक्टर होऊन उनीहरूको शिक्षाको स्टान्डर्ड पनि हेर्नु प¥यो । एकातिर दर्शन, सिद्धान्तका दृष्टिले कमजोर हुने र अर्कोतिर पढाइको स्तर खस्कँदा समस्या भएको छ ।
अध्ययन पनि एकपटक मात्र गरेर हुँदैन । यो पेसामा निरन्तर अध्ययनको खाँचो हुन्छ । गुणस्तरीय सेवा दिनु भनेको ऋषिमुनिको तपस्या जस्तै हो । मेडिसिनमा जन्मने, मेडिसिनसँगै हुर्कने र मेडिसिनको अध्ययनमै जीवन बिताउने सोच पाल्नुपर्छ । सूचना, प्रविधि र चेतनास्तरले सक्षम हुँदै गएका सेवाग्राहीलाई उपचार गर्ने डाक्टर पनि दक्ष, अध्यावधिक र संवेदनशील हुन जरुरी छ ।
प्रणालीमै समस्या
चिकित्सा क्षेत्रमा देखा परेका तमाम समस्याको जग शिक्षा प्रणालीमा छ । त्यसैले शिक्षा प्रणालीमै सुधारको आवश्यकता छ । समाजले डाक्टरलाई अहिले पनि निकै ठूलो सम्मान दिन्छ । चिकित्सकले प्रदान गर्ने सेवाका कारण उसले त्यो सम्मान पाएको हो । तर, अहिलेको शिक्षा प्रणाली नाफामुखी हुँदै गएको छ । यसले सेवक चिकित्सकको साटो कमाइखाने चिकित्सकहरू बढाउँदै लगेको छ ।
चिकित्सकले जहिल्यै हामी सेवक हौं भन्ने धारणा राख्नुपर्छ । बिरामीले गाली गरे पनि सहनुपर्छ । पेसा नै यस्तो खालको छ । कहिले चिन्ताले ग्रस्त भएका वा मानसिक स्थिति सन्तुलित नभएका बिरामी उपचार गर्नुपर्छ । तपाईंलाई कुट्छु भन्ने खालको बिरामी पनि आउन सक्छ । तर, डाक्टरले कुस्ती खेल्न जाने होइन । बिरामीले गाली गर्दा पनि संयमित हुनुपर्छ ।
डाक्टरले कार्यस्थलमा पनि राम्रो पारिवारिक वातावरण कायम गर्नुपर्छ । अध्ययनशील हुन आवश्यक छ । त्यस्तै बिरामी वा आफन्तसँग कसरी व्यवहार गर्ने, कसरी बोल्ने भन्ने सिक्नुपर्छ । उचित तवरमा व्यवहार गर्न वा बोल्न आउँदैन भने तालिम लिनुपर्ने पनि हुन सक्छ ।
सेवाग्राहीको भूमिका
डाक्टर–बिरामी सम्बन्ध सुमधुर बनाउने जिम्मेवारी केवल डाक्टरको मात्र होइन । बिरामी वा सेवाग्राहीले पनि डाक्टरका समस्या र सीमितता बुझ्नुपर्छ । डाक्टरले चाडपर्व भन्न पाउँदैन । अप्रेसन त लाखौंको भएको छ तर एक÷दुई केसहरूलाई मिडियाले ठूलो बनाइदिन्छ । प्रक्रियागत गल्ती नहुनु पथ्र्यो यदि भइहाल्यो भने पनि मिडियाले डाक्टरले गरेका सत्प्रयास ओझेलमा पारिदिन्छ । अमेरिकामा उपचार गराउँदा पनि गल्ती भएका दृष्टान्त छन् । यसको अर्थ गल्ती भइहाल्छ भनेर हलुका रूपमा लिइएको होइन । गल्ती नदोहोरियोस् भने सुधार हुन आवश्यक छ । स्वास्थ्यसंस्थामा ‘चेक लिस्ट’ (विभिन्न तहमा जाँच गर्ने सूची) बनाई लागू गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकाबमोजिम ‘टाइम आउट’ (अप्रेसन गर्नुअघि परामर्श) को व्यवस्था लागू गर्नुपर्छ । टाइम आउटअनुसार कार्य गर्ने हो भने ९९ प्रतिशत गल्ती हुने सम्भावना रहँदैन । तथापि, टाइम आउट गर्दागर्दै पनि कहिलेकाहीँ गल्ती हुन सक्छ । अमेरिकामा ‘टाइम आउट’ अनुरूप जाँच वा अप्रेसन नगर्ने चिकित्सकलाई निलम्बन गरिन्छ ।
नेपालको सन्दर्भमा चिकित्सकलाई मात्र दोष दिन मिल्दैन । डाक्टरलाई औंला देखाएर समस्या समाधान हुँदैन । सबैको नियत स्वच्छ हुनुपर्छ । स्वास्थ्य सेवाको सुधारका लागि प्रणालीको विकास गर्नुपर्छ । सरकारले विज्ञहरूसँग छलफल गरी आवश्यक नीति बनाउनुपर्छ । कसैलाई दोष दिएर समस्या समाधान हुँदैन । बिरामी, डाक्टर र अन्य सरोकारवाला पक्षबीच समन्वय, सहकार्यको खाँचो छ । समग्र समाज र राष्ट्रको परिवर्तनका लागि महŒवपूर्ण भूमिका खेल्छु भनेर उत्प्रेरित नहुने हो भने चिकित्सकीय अभ्यासमा नआए पनि हुन्छ ।
(वरिष्ठ अर्थोपेडिक शल्यचिकित्सक पाण्डेसँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको कुराकानीमा आधारित)