Logo

ओली–मोदी केमेस्ट्री



ऋषि धमला : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपालको संसद्लाई सम्बोधन गर्दै भनेका थिए, ‘भारत र नेपालको सम्बन्ध गंगा जत्तिकै पुरानो छ ।’ दुई देशबीचको कागजी सम्झौताले कोरेको सीमाको आधारमा मात्र सम्बन्ध बढेको छैन, भौगोलिक सहजता र जनमनको सम्बन्धको जगमा टिकेको छ । त्यसैले मोदीले भने, ‘हाम्रो सम्बन्ध कागजमा लेखिएको होइन दिलमा गडिएको छ ।’ प्रधानमन्त्रीका रूपमा सन् २०१४ मा भारत भ्रमणका बखत केपी शर्मा ओलीले संयुक्त पत्रकार सम्मेलनमा भारतसँगको अति महत्वपूर्ण सम्बन्धबारे बोलेका थिए । मोदीतर्फ पटकपटक हेर्दै उनले असमझदारीहरू हटाउनुपर्नेमा समेत जोड दिएका थिए ।

संयोग नै भन्नुपर्छ, मोदी पहिलोपटक भारतको प्रधानमन्त्री भएको वर्ष २०१४ मा केपी ओली पहिलोपटक नेपालको प्रधानमन्त्री भए । कठिन राजनीतिक जीवनबाट खारिएका दुवै नेतामा राष्ट्रवादी भावना झल्कन्छ । मोदी भारतमा बढेको राष्ट्रवादको लहरका बीच उदाएका नेता हुन् । ओली पनि राष्ट्रवादी नेताको परिचयका साथ लोकप्रिय भएका हुन् । संसारभर राष्ट्रवादको लहर चलिरहँदा यी दुवै नेताले राजनीतिक उचाइ लिन सके । जातिवाद र जातीय द्वन्द्वको खतराको बादल मडारिँदै जाँदा यी विषयमाथि कडा रूपमा प्रस्तुत हुँदै आएका नेता हुन् ओली र मोदी । देशभन्दा ठूलो कुनै जाति, क्षेत्र र समुदाय विशेष हुन नसक्ने तर्क गर्दै आएका दुवै नेता अडान लिन सक्ने क्षमता राख्छन् । आफ्नो अडानबाट डगमग नहुने स्वभावका कारण ओली र मोदीले निकै आरोह र अवरोहबीच राजनीतिमा स्थापित हुन सके । अहिले दुवै नेता दक्षिण एसियाका शक्तिशाली नेताका रूपमा गनिएका छन् ।

करिश्मामयी व्यक्तित्व

ओली र मोदी करिश्मामयी नेता हुन् । दुवै नेता लोकप्रियताको शिखरमा छन् । भारतीय जनता पार्टीका तर्फबाट प्रधामन्त्रीका रूपमा मोदीलाई अगाडि सारिएपछि सन् २०१४ को लोकसभा चुनावमा बहुमत प्राप्त ग¥यो । भारतीय जनता पार्टीले इतिहासमै पहिलोपटक बहुमत ल्याउन सक्यो । यसमा मोदीको टावर पर्सन्यालिटीले काम गरेको थियो । मोदीमय भारत बन्यो । कमजोर संगठन भएको राज्यहरूमा समेत भाजपाले जित हासिल गर्दै विधानसभाको चुनाव जित्न थाल्यो । कम्युनिस्टहरूको गढ मानिएको त्रिपुरामा समेत भाजपाले जित दर्ता ग¥यो । उत्तर प्रदेशलगायत महत्वपूर्ण राज्यहरूमा भाजपाले जित्यो । लोकप्रिय मोदीप्रति भारतीय जनताको विश्वासले चुनावमा निकै भूमिका खेल्यो ।

ओली अहिले नेपाली राजनीतिको शिखरमा छन् । बहुमत प्राप्त वाम गठबन्धनले ओलीलाई प्रधानमन्त्री चयन गरेको हो । उनलाई दुई तिहाइ सांसदको समर्थन छ । पहिलो संसद्को चुनावमा दुई तिहाइ जित दर्ता गरेको नेपाली कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालापछि ओली सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुन् । कतिपयले उनलाई जंगबहादुरपछिको शक्तिशाली नेता पनि भन्न थालेका छन् । ओलीको नेतृत्वदायी क्षमताका कारण वाम गठबन्धन बन्नु र ऐतिहासिक सफलता हासिल गर्दै बहुमत ल्याउनुले झन् उचाइ दिलाउन सक्यो । देशका सात प्रदेशहरूमध्ये ६ वटामा वाम गठबन्धनको शासन छ । ओलीको करिश्माले देश लगभग वाममय भएको छ । ओलीप्रति जनताको ठूलो आशा छ । उनले विभिन्न समयमा दिएका अभिव्यक्ति र प्रतिबद्धताले विकासको लहर आउने आशा गरिएका छन् । बोलेको पूरा गरिछाड्ने नेता भएकाले ओलीप्रति जनताले विश्वास पनि गरेका छन् ।

ओली र मोदी दुवै जोखिम लिन सक्ने नेता हुन् । विकास र सुशासनमा केन्द्रित मोदीले नोटबन्दी गरेर जोखिम मोले । भारतमा भ्रष्टाचार, कालोधन र नक्कली नोटको गिरोहलाई नियन्त्रण गर्न मोदीले जोखिम मोलेका थिए । नोटबन्दी असफल हुन्थ्यो भने मोदीको राजनीतिक भविष्य कठिन मोडमा पुग्थ्यो । तर, सफल बनाएरै छाडे । जटिल क्षणमा सटिक निर्णय गरेर राजनीतिलाई दिशा दिन सक्ने क्षमता मोदीमा छ । यस्तै क्षमता ओलीले प्रदर्शन गर्दै आएका छन् । संविधान निर्माणमा क्रममा ओली चट्टान जसरी प्रस्तुत भए । विभिन्न दबाबसामु नझुकी संविधान निर्माणमा मुख्य भूमिका खेलेका थिए । जातीय र क्षेत्रीय गतिविधिप्रति ओली कडा रूपमा प्रस्तुत भए । राष्ट्रिय अखण्डता र एकतामाथि चुनौती दिन खोज्नेविरुद्ध उनको अभिव्यक्ति र व्यवहारले भिन्न पार्टीका राष्ट्रवादीहरूले समेत वाहवाही गरे । स्वभाव र कार्यशैलीमा धेरै समानता भएका ओली र मोदीको केमेस्ट्री मिलेको देखिन्छ । यही मिलेको केमेस्ट्रीका कारण दुवै नेताले नेपाल—भारत सम्बन्धलाई युग अनुकूल सदुपयोग गरी अगाडि बढ्न सक्छन् । दुवै देशको समृद्धिको यात्रा सहज र सार्थक हुन सक्छ ।

ओलीलाई मोदीको साथ

संसद्को चुनावमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि नरेन्द्र मोदी र केपी शर्मा ओलीबीचको टेलिफोन संवादले सकारात्मक सन्देश प्रवाह ग¥यो । उक्त संवादमा ओलीलाई स्वागत गर्न मोदी आतुर रहेको विषयसमेत थियो । त्यसपछि लगातारको टेलिफोन संवादपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज मोदीको विशेषदूतका रूपमा नेपाल आइपुगिन् । ओलीलाई भेटेर सुष्माले मोदीको सन्देश सुनाइन् । त्यसपछि राजदूत मञ्जिभ सिंहको सक्रियताले ओली र मोदीलाई झन् नजिक ल्याउन सक्यो । परिणामस्वरूप चैत्र २५—२७ मा ओलीको भारत भ्रमण तय भयो । नेपालका नेताहरू पहिलो विदेश भ्रमणमा भारत जाने परम्परालाई ओलीले पनि तोड्ने चर्चा नभएको होइन । यसअघि प्रचण्डले परम्परा तोडेका थिए । तर, ओलीले सम्बन्धको विशेषता र महत्वलाई मध्यनजर गरी भारत भ्रमणबाट विदेश भ्रमण सुरु गर्ने निर्णय लिए । ओलीको चाहना मोदीलाई नेपाल भ्रमण गराएर मात्र आफू भ्रमणमा जाने थियो । तर, ओलीको भ्रमणपछि मोदीले भ्रमण गर्ने सम्भावना बढेको छ । त्यसबारे भारत भ्रमणका बेलामा नतिजा आउन सक्छ । अरुण तेस्रो परियोजना निर्माणको उद्घाटन दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा गर्नेबारे समेत गृहकार्य भइरहेको छ । आगामी वर्ष यसले सार्थकता पाउन सक्छ ।

ओलीको भ्रमण दुई देशबीचको सम्बन्धलाई प्रगाढ बढाउने र केही असमझदारी हटाउन केन्द्रित हुन सक्छ । विगतमा पनि ओलीले असमझदारी बसेर छलफलका माध्यमले हटाउन सकिने विषय राखेका थिए । सार्वभौम राष्ट्रहरू त्यसमाथि पनि छिमेकी मुलुकहरूबीच असमझदारी स्वाभाविक हो । केमेस्ट्री मिलेका ओली र मोदीले सार्थक छलफलबाट समझदारी बनाउन सक्छन् । दुवै नेता प्रस्ट कुरा राख्ने स्वभावका भएकाले पनि वातावरण सहज हुनसक्छ । संविधानमा सबैको अपनत्व होस् भन्ने मोदीको कामना थियो । त्यसमा केही असन्तुष्टि भारतीय पक्षले पोख्दा समस्याहरू आएका थिए । तर, यही संविधानमा टेकेर भएको तीन तहको चुनावमा भारतीय सहयोग र सद्भावले संविधानप्रति उसको सम्मान देखिइसकेको छ । चुनावमा सहयोग गर्नु नै भारतको संविधानप्रतिको स्वागत हो भन्ने तर्क नभएका होइनन् । भारत भ्रमणका बेलामा ओलीले मोदीको मुखबाट संविधानको स्वागतको शब्द निस्कने अवस्था निर्माण गर्न सक्छन् ।

ओली र मोदीको प्राथमिकता आर्थिक विकास र समृद्धि छ । मोदीले भारतलाई विश्वकै ठूलो अर्थतन्त्र बनाउने जग हालिसकेका छन् । उनले आर्थिक क्षेत्रमा चालेको कदम र विकासमा दिएको कदमले भारतले विकासका क्षेत्रमा केही वर्षमै कायापलट गर्न सक्छ । सन् २०१७ मा भारतको आर्थिक वृद्धि दर ६.७२ प्रतिशत रह्यो । मोदी युगमा भारतले तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको छ । सन् २०१८ मा झन्डै ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । मोदीले सवा अर्ब जनसंख्या रहेको भारतमा गरिबी, आर्थिक असमानता हटाएर अगाडि बढ्ने परियोजनाहरू बढाएका छन् । सहरका गल्लीदेखि गाउँका झुपडीसम्मका जनतालाई विकास र आर्थिक वृद्धिको योजनामा समाहित गर्ने नीति कार्यान्वयन गराइरहेका छन् ।

ओलीले समृद्धिको महाअभियानको नेतृत्वकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । अब राजनीतिक झमेलामा अल्झने नभई सबै आर्थिक विकास र समृद्धिको यात्रामा सहभागी हुनुपर्नेमा जोड दिँदै आएका छन् । आर्थिक विकास मूल एजेन्डा बनाउनकै लागि त्यस क्षेत्रका ज्ञाता डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएका छन् । ओली प्रधानमन्त्री हुँदा नेपालले ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको तथ्यांक सार्वजनिक भयो । विश्व बैंकका अनुसार सन् २०१७ मा हासिल गरिएको आर्थिक वृद्धि सन् १९९४ पछिकै अधिक हो । देशले २३ वर्षपछि उत्साहजनक आर्थिक वृद्धि हासिल गर्नुले शुभ संकेतहरू देखिएका छन् । ओलीले भारतसँगको व्यापार घाटा घटाउनुका साथै नेपालमा भारतीय लगानी भित्र्याउने वातावरण बनाउन भूमिका खेल्न सक्छन् ।

भारतसँगको सम्बन्धलाई उच्च महत्व दिने क्रममा उनले विगतमा महत्वपूर्ण कदमहरू चालेका थिए । जलस्रोतको सदुपयोग र दुवै देशको हितमा काम गर्नुपर्ने सोच भएकाले महाकाली सन्धि गराउन भूमिका खेलेका थिए । उनले सोचेजस्तो महाकाली सन्धिअनुसारको काम समयमा बढ्न सकेन । भारतले नेपालमा हात हालेका परियोजनाहरू ढिलासुस्तीका कारण विवादमा पर्ने गरेका छन् । यसमा भारतको कमजोरी छँदैछ नेपाली पक्षको पनि कमजोरी छ । ओलीले मोदीसँगको सिधा सम्बन्धबाट परियोजनाहरू समयमै निर्माण गर्ने वातावरण बनाउन सक्छन् । कुनै बेला भारतको नीतिप्रति कडा रूपमा प्रस्तुत हुँदै आएका ओली भारतसँग नजिक रहेर समृद्धिको यात्रामा बढ्न चाहन्छन् भन्ने सन्देश गइसकेको छ । त्यसमाथि पनि मोदीसँगको सुमधुर सम्बन्धबाट समृद्धिको लक्ष्य हासिल गर्ने महान् अभियानलाई सार्थक तुल्याउन चाहिरहेका छन् ।

भारतसँगको विशिष्ट सम्बन्ध र संवेदनशीलताबारे ओली जत्तिको जानकार अन्य कुनै नेता नहोलान् । उनले भारतसँगको सम्बन्धबाट देशलाई लाभ पुग्ने कदमहरू चाल्न सक्छन् । ओलीसँगको केमेस्ट्री मिल्नुले ओलीलाई धेरै साथ दिएको छ । शक्तिशाली प्रधानमन्त्रीहरूले शक्तिको उचित अभ्यासमार्फत विकासको लहर ल्याउन सक्छन् । नेपालको स्रोत र साधनको सही सदुपयोग गर्नुपर्छ भन्नेमा मोदीको धारणाहरू नआएको होइन । नेपालका नदीहरूबाट बिजुली निकालेर भारतले किन्ने विषय मोदीले संसद्लाई सम्बोधन गर्दा उठाएका थिए । नेपालको नदीनालाबाट बिजुली निकालेमा उत्तर प्रदेश र बिहारजस्ता भारतका महत्वपूर्ण राज्यहरू अन्धकारमुक्त हुन्छन् । यहाँको प्राकृतिक स्रोतबाट भारतले समेत लाभ लिन सक्छ । भारतीय पर्यटकका लागि नेपाल उत्तम गन्तव्यस्थल हो । भारतको जनसंख्याको एक प्रतिशत मात्र नेपाल घुम्न आउने हो भने अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्न सक्छ । तर, त्यसका लागि नेपालमा पूर्वाधारहरूको अभाव छ । समृद्धिको यात्रामा दुवै देशका नेताबीचको समन्वय र समझदारी खाँचो छ । ओली—मोदी केमेस्ट्रीले समझदारी र समन्वयको लक्ष्य पूरा हुन सक्छ ।

नेपाल—भारत सम्बन्धबारे मोदी

– भारत र नेपालको सम्बन्ध गंगा जत्तिकै पुरानो हो ।
– हाम्रो सम्बन्ध कागजमा लेखिएको होइन दिलमा गडिएको छ ।
– नेपाल विश्वलाई चकित पार्ने भगवान् बुद्धको जन्म दिने भूमि हो । सांस्कृतिक विरासतको जमिन हो ।
– हिन्दुस्तानले लडेर जितेको कुनै लडाइँ छैन जसमा कुनै नेपालीको रगत नबगेको होस् । भारतको रक्षाका लागि नेपालको बहादुरहरू मर्न र मार्न पछि परेनन् । बहादुर नेपालीहरूलाई म नमन गर्न चाहन्छु । वीरहरूको भूमि हो नेपाल
– भारतको काम तपाईंहरूको काममा अवरोध पु¥याउने होइन, तपाईंहरूले जुन दिशा लिनुहुन्छ र जुन संकल्प लिनुहुन्छ
– नेपाल एउटा सार्वभौम देश हो । सारा देश विश्वलाई देख्दा गौरवान्वित होस्, हामी त्यो नेपाल देख्ने इच्छा राख्छौं ।
– संविधानले जोड्छ, तोड्दैन । पहाड र तराई जोड्ने काम गरोस् ।
– हामीबीच अटल नाता छ । नेपाल चैनसँग सुत्न नसके हिन्दुस्तान पनि सुत्न सक्दैन ।
– नेपालको पानीबाट निस्कने बिजुलीले हिन्दुस्तानको अन्धकार अन्त्य गर्न सक्छ ।
– पानी र जवानी कहिले पनि पहाडको काम आउँदैन । अब यसलाई बदल्नुपर्छ । पानीले सिञ्चित गर्नुपर्छ र जवानीले रौनक ल्याउनुपर्छ ।

नेपाल—भारत सम्बन्धबारे ओली

– नेपालका लागि भारतसँगको सम्बन्ध अति महत्वपूर्ण छ ।
-नेपाल—भारतबीचको सम्बन्ध सरकारी तह र औपचारिक लेनदेनभन्दा माथि छ ।
– ऐतिहासिक र पुरानो सम्बन्धमा कहीँ कतै कमजोरी छन् भने समझदारी बनाउन सक्छौं ।
– मेरो भ्रमणको मुख्य उद्देश्य केही समयदेखि देखा परेको नेपाल—भारतबीच असमझदारी हटाउँदै सही ट्र्याकमा ल्याउनु हो ।
– प्रधानमन्त्री मोदीजीले नेपाल भ्रमण गर्दा नेपाल र नेपाली जनताप्रति दर्शाउनु भएको प्रेमभाव मेरो र नेपाली जनताको मस्तिष्कमा ताजै छ ।
– संविधान निर्माणपछि हामी आर्थिक विकास र समृद्धिको यात्रामा बढिसकेका छौं ।
– भारतले नेपाललाई भूकम्पका समयमा साथ र सहयोग गरेकोमा धेरै मुरी मुरी धन्यवाद
– संविधान जारी भएपछि पहिलो प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्नु मेरा लागि सम्मानको विषय हो

(यो लेख रिपोर्टर्स क्लब नेपालद्धारा प्रकाशित स्मारिका ‘अब समृद्धिको पाइला’ बाट साभार गरिएको हो । )



प्रतिक्रिया दिनुहोस्