Logo

टुरिष्ट बसको बोर्ड राखेर भारतबाट तस्कर, ३० लाख रुपैयाँ बराबरको कपडासहित बस नियन्त्रणमा (फोटोफिचर)



चैत २२, काठमाण्डौ । भारतबाट अवैध रुपमा नेपाल ल्याइएको ठूलो परिणामको लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले राजधानी काठमाडौँ प्रवेश गर्ने नाका नागढुंगाबाट ३० लाख रुपैयाँ बराबरको कपडासहित यात्रुवाहक बस नियन्त्रणमा लिएको हो ।

लत्ताकपडा सहित दिल्लीबाट चैत्र २० गते विहान पर्यटक मात्र लेखिएको ना ६ ख ६३०२ नम्बरको गाडीमा लत्ताकपडा ल्याएको सुचनाको आधारमा २१ गते नागढुंगामा गाडी नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गाडी नियन्त्रणमा लिने क्रममा बारा निजगढ नगरपालिका स्थायी घर भएका चालक रामबहादुर थोकर मात्रै पक्राउ परेका छन् । सवारीधनी मिलन भनिने सर्लाहीका रमेश खड्का र दोलखा स्थायी ठेगाना भएका सह–चालक गणेश जिरेल फरार भएको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोख्रेलले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सारी, कुर्ता–सल्वार, पेटीलगायतका सामग्रिसहित उक्त गाडी राजस्व अनुसन्धान विभागलाई बुझाउने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विदेश पठाइदिन्छु भन्दै ठग्ने ४ जना समातिए
यस्तै रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने ४ व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने, शान्ति सेनामा पठाइदिने, क्यानडा, अमेरिका पोल्याण्ड पठाइदिन्छु भन्दै रकम लिइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा लमजुङ चन्द्रश्वर घर भइ हाल काठमाडौँ बस्ने मोहन दुरामाथि बहालवाला जर्नेलको पिए हुँ भन्दै ठग्ने गरेको आरोप छ । त्यस्तै तनहँु ब्यास नगरपालिकाका यमुना खड्काले बहालवाला एआइजीको श्रीमति हुँ भन्दै ठग्ने गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा लमजुङ दोरदी घर भई हाल मनमैजु बस्ने पशुपति अधिकारी र कास्की रुपा गाउँपालिका घर भइ हाल बनस्थली बस्ने रमेश कुमाल छन् । उनीहरुमाथि विभिन्न व्यक्तिबाट १ करोड १५ लाख रुपैयाँ बराबर ठगी गरेको आरोप छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्