Logo

‘समृद्धिको आधार त्रिदेशीय समझदारी’ : सुजाता कोइराला



सुजाता कोइराला, पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री : नेपाल समृद्ध बन्नका लागि सबै दलहरू मिलेर अगाडि बढ्नुपर्छ । एक्लै हिँडेर हुँदैन । गिरिजाबाबुले स्पष्टसँग मार्गदर्शन गरेर जानुभएको छ कि अब सहमति, सहकार्य र एकताबाट बढ्नुको विकल्प छैन । यसबाट नै देशले काँचुली फेर्नेछ । गिरिजाबाबुको मागदर्शन अनुसार हिँडेमा मात्र समृद्धि सम्भव छ । त्यसका लागि सबै दलहरू मिलेर अगाडि बढ्नुपर्छ । जनताको चाहना भनेको राजनीतिक स्थायित्व, विकास र शान्तिसुरक्षा हो । राजनीतिक स्थिरता नभएकै कारणले आज नेपाल पछि परेको छ । अब स्थिरता कायम गरी देश विकासमा जुट्नुपर्छ ।

सकारात्मक सोच सबैमा आउनुपर्छ । सरकार सञ्चालन गर्नेहरू पनि सकारात्मक ढंगले अगाडि बढ्नुपर्छ । हाम्रो देशमा ऐनकानुन ठीक छैन, नीतिहरू राम्रो छैन । हामीले नेपालमा लगानीकर्ता पनि ल्याउनुपर्छ । चीन भारत दुवै समृद्ध देश छन् छिमेकी मुलुकहरू उनीहरूबाट हामीले धेरैभन्दा धेरै सहयोग लिन सक्नुपर्छ । नेपाललाई विकसित बनाउने हो भने सबैभन्दा पहिला त कृषि, जलस्रोत र पर्यटनलाई विशेष जोड दिनुपर्छ । कृषि उत्पादन बृद्धि गर्ने, कृषकको सम्मान र उत्कृष्ट जीवनयापनको अवस्था सृजना गर्नुपर्छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणले युवाहरूलाई कृषितर्फ आकर्षण गराउन सकिन्छ । यसको लागि सरकारले पहल गर्नुपर्छ ।

विकास निर्माणका लागि सरकारको सकारात्मक क्रियाकलापमा भूमिका हुनुपर्छ । खासगरी भन्ने हो आन्तरिक उत्पादनहरू बढाउन ठूला आवश्यकता देखिन्छ । नेपाल समृद्ध हुनका लागि हिजो गिरिजाबाबुले ल्याउनुभएको नीतिलाई पछ्याएर अगाडि बढ्नुपर्छ । यदि त्यसो नगर्ने हो भने यो अभियानको कुनै सम्भावना छैन । ओलीजीले त्यो कुरालाई ध्यान दिनुपर्छ । एमालेले बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको एजेन्डा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पछ्याएको छ । त्यही नारालाई अवलम्बन गरेर एमालेले बहुमतको सरकार पाएको छ । बीपी र गिरिजाबाबुको लाइन छोडेर नेपालको विकास र समृद्धि हुन सक्दैन । ओलीजीले यो तथ्यलाई बुझ्नु भएको होला । अब सरकार र प्रतिपक्ष मिलेर अगाडि बढेमात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । यसो गरेर मात्र देशलाई समाजवादको बाटोमा लैजान सकिन्छ । मुलुकका लागि समाजवाद नै सही बाटो हो ।

हाम्रा छिमेकहरू आर्थिक विकास निकै अगाडि बढिसकेका छन् । यसबाट हामीले लाभ लिन सक्नुपर्छ । भारतसँग राम्रो सम्बन्ध हुनुपर्छ भारतलाई बिर्सेर समृद्ध नेपाल बन्न सक्दैन । भारतसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्छ । सम्बन्धले उनीहरूलाई पनि फाइदा होस् हामीलाई पनि फाइदा होस् । त्यस्तै चीनसँग पनि हामीले राम्रो सम्बन्ध राख्नुपर्छ । नेपाल र नेपालीले आपूmलाई चिनेकै छैन, नेपाल अत्यन्तै सुन्दर देश छ । नेपालमा समृद्धि आयो भने यो क्षेत्र नै समृद्ध हुन्छ । त्यसैले नेपाललाई साँच्चिकै समृद्ध बनाउने हो भने त्रिदेशीय समझदारीको आवश्यकता छ । नेपाल, भारत र चीन बीच सहमति, सहकार्य र एकता हुनु आवश्यक छ । यी तीन देशबीच सहमति गरेर हामीले ठूला परियोजनाहरू ल्यायौं भने हामीले जुनसुकै बेला पनि मुलुकलाई समृद्ध बनाउँछ । यसले भारत, चीन र नेपाल तिनै देशलाई राम्रो फाइदा हुन्छ ।

मानिसले प्रगति गर्नलाई सपना नदेखि, आशा नगरी कसरी बाँच्न सक्छ । आशावादी त हामी हुनैपर्छ । म त आशावादी छु, नेपाल समृद्ध हुन्छ कुरामा । नेपालमा धेरै स्रोतहरू छन् त्यसलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । यसलाई उत्पादनमा लगाई सदुपयोग गर्नुपर्छ । हाम्रा देशका साधनस्रोतहरूलाई त्यसै खेर जान दिनु हुँदैन । हामी सबै दलहरू मिलेर अगाडि बढेको खण्डमा नेपाल एउटा विकसित र समृद्ध मुलुक बन्न सक्छ । कोरिया, चीन, जापानजस्ता मुलुकहरूमा पनि त असहमति र असमझदारीका विषयहरू थिए । त्यसलाई थाती राखेर उनीहरू आर्थिक विकास र साझेदारीमा केन्द्रित भए । उनीहरू समृद्धिका लागि एक ठाउँमा उभिन पुगे जसको कारणले विकासको शिखरमा पुग्न सके । हामीले त्यसबाट सिक्नुपर्छ । नेपाल, भारत र चीन पनि विकास र समृद्धिका लागि एक भएर जानुपर्ने आवश्यकता छ । जब कि जापान, दक्षिण कोरिया र चीन मिलेर विकास गरेका छन् भने यहाँ भारत, चीन र नेपाल मिल्न किन नहुने ?

यो लेख रिपोर्टर्स क्लब नेपालको संस्थापक स्मारिका “अब पाइला समृद्धि” बाट साभार गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्