नयाँ दिल्ली, २४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तीन दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुशी रहेको बताएका छन् । मोदीले नेपालीमै संक्षिप्त सम्बोधन गरेका हुन् ।
नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो ।
संयुक्त पत्रकार सम्मेलनअघि दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोशी नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गरे। ‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदीले भने ‘नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ।’
यस्तो छ सम्वोधनको नेपाली अनुवाद :
भारतको छिमेकी र मित्रराष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, भ्रमण दलका माननीय
सदस्यहरु, तथा उपस्थित मिडियाका प्रतिनिधिहरु,
तपाईहरु सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुशी लाग्दैछ ।
प्रधानमन्त्री ओलीजीको यो भारत यात्रा नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भइरहेको छ । गतवर्ष नेपालका जनताले लोकतन्त्र एवं संघीय व्यवस्थामा विश्वास जनाए ।
स्थानीय निकाय, प्रान्त र संघीय संसदको चुनावको सफल आयोजन नेपालको सरकार र नेपाली जनताका तर्फबाट ठूलो उपलब्धि हो । र, सन् २००६ मा सुरु भएको परिवर्तनको यो उत्कर्ष हो । यसका लागि म नेपालका जनता र सरकार दुबैलाई हृदयदेखि नै अभिनन्दन गर्छु । र, धेरै धेरै बधाइ दिन्छु ।
नेपालले अब राजनीतिक इतिहासको एक नयाँ युगमा प्रवेश गरेको छ । एक छिमेकी मित्र देशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रुपमा नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ भारतमा हाम्रा लागि हर्षको विषय हो ।
साथीहरु, हिजो र आजको हाम्रो कुराकानीमा प्रधानमन्त्री ओलीजीले नेपालको तीव्र आर्थिक विकास एवं समावेशी समाजको निर्माणका लागि आफ्नो बोल्ड भिजनका बारेमा मलाई विस्तारमा जानकारी दिनुभयो ।
हामीले यो विषयमाथि पनि चर्चा गर्यौं कि यस भिजनलाई साकार पार्नका लागि भारत नेपाल सरकारका साथ कुन प्रकारले भागिदार बन्न सक्छ ? म सम्झन्छु कि भारतको विकासका लागि मेरो सच्चा साथ सच्चा विकासको मुल मन्त्र हो । र, नेपालका लागि प्रधानमन्त्री ओलीजीको समृद्ध नेपाल सुखी नेपालीको अभियान एक दोस्रोका पूरक हुन् । यसका लागि हामी दुबै पूर्णतः सहमत छौं कि हामी जनकेन्दि्रत भिजन, विकासको साझा लक्ष र दुबै देशका जनताको सुख शान्ति एवं अपेक्षाहरुलाई साथमा लिएर अघि बढ्नुछ ।
साथीहरु,
नेपालको विकासमा भारतको भागिदारीको धेरै लामो इतिहास छ । मैले प्रधानमन्त्री ओलीजीलाई भरोसा दिलाएको छु कि नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले अगाडि पनि उहाँका साथ पूरै तरह सहयोग गरिरहन्छ । हमेसातरह यो सहयोग भविश्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकताहरु र आवश्यकतामा आधारित हुनेछ ।
सहयोगप्रति हाम्रो प्रतिवद्धताको एक महत्वपूर्ण परिणाम ‘इन ल्याण्ड वाटर बि्रज’मा सहयोगको निर्णय हो । हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ । र, सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ । म मान्दछु कि यो एउटा ऐतिहासिक सुरुवात हो । नेपाल ल्याण्ड लक होइन, वाटर लिंक पनि हुनेछ ।
यसैप्रकार, रेल्वेमा पनि हामी कनेक्टिभिटी बढाउन चाहन्छौं । र, यसका लागि काठमाडौंदेखि भारतलाई जोड्ने एक नयाँ रेल लाइनलाई संंयुक्तरुपमा विकसित गर्नेबारेमा पनि हाम्रो सहमति बनेको छ ।
कनेक्टिभिटीको एक आयाम व्यापार र मानिसहरुको आवगमनको इन्फास्क्ट्रचरसँग जोडिएको हुन्छ । केही समय पहिले हामीले वीरगञ्ज रक्सोल एकीकृत चेकपोष्टको उदघाटन गर्यौं । यो आइसीपी भारत र नेपालको शदियौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेछ ।
आजको हाम्रो कुराकानीमा हामीले कनेक्टिभिटीका सबै प्रोजेक्टहरुमा प्रगतिको रिभ्यु गर्यौं । तेल पाइपलाइन होस् वा एकीकृत चेकपोष्ट होस्, या फेरि तराई रोड (हुलाकी सडक), यसप्रकारका सबै कनेक्टिभिटी प्रोजेक्टहरुलाई हर सम्भव गतिदिनेबारे हामी दुबै सहमत छौं ।
साथीहरु,
भारत र नेपाल दुबै कृषिप्रधान देश हुन् । यसका लागि हामी हामीले कृषिको क्षेत्रमा एक नयाँ भागिदारीको सुरुवात गरेका छौं । यो भागिदारीबाट अग्र्यानिक फार्मिङ, पशुपालन, माटो परीक्षण, कृषि अनुसन्धान एवं कृषि शिक्षाजस्ता विषयहरुमाथि हामीले आफ्नो सहयोग बढाउनेछौं । मलाई खुशी लागेको छ कि आफ्नो बहुमूल्य समय निकालेर प्रधानमन्त्रीजी भोलि पन्तनगरस्थित कृषि विश्वविद्यालय जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीजीको साथमा मिलेर मैले जल संशाधन र उर्जा सम्बन्धी प्रोजेक्टहरुको पनि रिभ्यु गरें ।
हामी दुबै अरुण-३, पञ्चेश्वर र सप्तकोशी सुनकोशी जस्ता परियोजनाहरुको काममा गति बढाउनेबारे सहमत छौं ।
साथीहरु,
भारत र नेपालका वीच रक्षा र सुरक्षाका विषयमा धेरै गहन सम्बन्ध छ । हामी दुबै आफ्ना खुल्ला सीमाको दुरुपयोगलाई रोक्ने र हाम्रा साझा सुरक्षा हितहरुलाई अगाडि बढाउनेबारे सहमत छौं ।
दुबै देशका वीचमा ओपन बोर्डर दुबै देशका सामान्य मानिसहरुका वीच एक लिभिङ बि्रज रहेको छ । रामायण एवं बुद्ध सर्किटको विकास तथा सीप विकास, शिक्षा, स्वास्थ्य आदि जनकेन्दि्रत क्षेत्रमा पनि हामी सहयोग बढाउनेछौं । यसबाट हाम्रो दुबै देशका वीच पारम्परिक सम्बन्ध अरु प्रगाढ हुनेछ ।
मलाई विश्वास छ आज हामीले जुन ऐतिहासिक कहल गरेका छौं, यसबाट दुबै देशको विकासको हाम्रो भिजनलाई साकार गर्नमा महत्वपूर्ण योगदान हुनेछ ।
साथीहरु,
नेपालको संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउनमा दुबै देशको आपसी सहयोग, विचार विमर्श र अनुभवको आदान प्रदानको महत्वपूर्ण भूमिका हुन सक्छ ।
म एकपटक फेरि प्रधानमन्त्री केपी ओलीजी, उहाँकी धर्मपत्नी र पूरै डेलिगेसनलाई भारतमा हार्दिक स्वागत गर्छु र यो पनि चाहन्छु कि फेरि भेट होला ।
धेरै-धेरै धन्यवाद ।