Logo

निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन : महत



चितवन, २४ चैत (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा उहाँले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता महतले संगठन बलियो बनाएमा आउँदो निर्वाचनमा काँग्रेस विजयी हुने बताउँदै त्यसका लागि गाउँ तहदेखि केन्द्रीय तहसम्म संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्छ, उहाँले भन्नुभयो, “पार्टी भित्र म नै केन्द्रविन्दुमा रहनुपर्छ भन्ने भावनाको विकास भएकाले अहिलेको निर्वाचनमा पराजय भोग्नु परेको हो ।”

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका महतले सरकारले जारी गरेको श्वेतपत्र हास्यास्पद रहेको टिप्पणी गर्दै वामपन्थी सरकारमा आएपछि विभिन्न बहानाबाट बङ्गाएर श्वेतपत्र जारी गरिएको बताउनुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमान सिंह गुरुङ, पूर्वसांसद जगनाथ पौडेल, काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य गीता वाग्ले, बलराम पौडेल, मिलनबाबु श्रेष्ठ लगायतले बोल्नुभयो ।

काँग्रेसका तर्फबाट चितवनका सात स्थानीय तहमा निर्वाचित १७४ जना जनप्रतिनिधिलाई विकास निर्माणका विषयमा पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, प्रतिपक्षको भूमिका कस्तो रहनुपर्छ भन्ने विषयमा पूर्वसांसद जगनाथ पौडेल र कानूनका विषयमा वरिष्ठ अधिवक्ता माधव खनिया, अधिवक्ताहरु विष्णु अर्याल, गोविन्द सिग्देल र उद्धव लोहनीले प्रशिक्षण दिने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्