काठमाडौं, २६ चैत । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले एक–एक गोलको बराबरी खेलेका छन् ।
गएराति भएको मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियलले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टेनियो ग्रिजम्यानले बराबरी गोल फर्काए । त्यसपछि दुवै पक्षबाट गोल हुन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।
दोस्रो स्थानको एथ्लेटिकोलाई बराबरीमा रोके पनि अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई १–० ले हराएपछि रियल अंकतालिकाको चौथो स्थानमा झरेको छ भने भ्यालेन्सिया तेस्रो स्थानमा पुगेको छ ।
समान ३१ खेलबाट एथ्लेटिकोको ६८, भ्यालेन्सियाको ६५ र रियलको ६४ अंक छ । लिग लिडर बार्सिलोनाले भने ३१ खेलबाट ७९ अंक बटुलेको छ ।
प्रतियोगिताअन्तर्गत गएराति नै भएको अर्को खेलमा लेभान्तेले लस पाल्मसलाई २–१ र रियल सोसिडाडले गिरोनालाई ५–० ले पराजित गरेको छ ।
एजेन्सीको सहयोगमा