Logo

बालअधिकारका लागि सगरमाथा आरोहण



काठमाडौँ, २७ चैत : एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने हुनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो । “बालबालिकाको हकअधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, नेपालको पर्यटन विकासमा योगदान पु¥याउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले सगरमाथा आरोहणमा रु ४५ लाख खर्च लाग्ने र रकम बचेमा बालबालिकाको वृत्तिविकासमा खर्च गरिने बताउनुभयो । रामेछाप निवासी पाण्डेले विश्व स्काउट र राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर तथा ललितपुर स्काउटको स्वर्णजयन्तीको प्रतीकचिह्न सगरमाथामा पु¥याउन लागिएको पनि जानकारी दिनुभयो ।

पाण्डेलाई विभिन्न संघसंस्थाको झण्डा तथा प्रतीकचिह्न हस्तान्तरण गर्दै प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले स्काउटमा लागेर विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्नु देशकै गौरव कार्य भएको बताउनुभयो । “आरोहणले रामेछाप र नेपालको परिचय झल्कनेछ”, उहाँले भन्नुभयो ।

युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले देशका एक करोड सात लाख युवाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेकामा उहाँलाई शुभकामना व्यक्त गर्नुभयो । नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले स्काउटका लागि साहस चाहिने भएकाले उक्त साहसलाई सगरमाथा आरोहणमा प्रयोग गर्न लागेकामा खुशी व्यक्त गर्नुभयो । पाण्डेसँग अन्य आठ जनाले सगरमाथा आरोह गर्दै हुनुहुन्छ । (रासस)



प्रतिक्रिया दिनुहोस्