Logo

आक्रमणको चपेटामा सिरिया, रसायनिक आक्रमण रोक्न बाध्य हुनुपरेको अमेरिकाको दाबी



वैशाख २, काठमाण्डौ । सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण शुरु गरेका छन् । शनिबार सिरियाको राजधानी शहर दमास्कस र यसको वरपरका क्षेत्रमा आक्रमणका आवाज सुनिन थालेका छन् ।

सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डौमामा सिरियाले रासायनिक आक्रमण गरिरहेकाले त्यो रोक्न आफूहरूले आक्रमण गरेको दाबी गरेका छन् । रूसले रासायनिक आक्रमण रोक्न नसकेकाले आफूहरूले आक्रमण गर्नुपरेको उनको दाबी छ ।

उनले डौमामा रासायनिक हतियारको भण्डारण रहेको बाएका छन् । आक्रमण विस्तृत क्षति र विवरण प्राप्त भइसकेको छैन । दमास्कस वरपर सुनिएको ठूलो आवाज र आकाशमा धुवाँको मुस्लोका कारण त्यहाँ भीषण क्षति भएको अनुमान छ ।

अमेरिकी रक्षा मन्त्रालयले सिरियाली प्रशासनविरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दाबी गरेको छ । रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अवरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेको पेन्टागनका प्रवक्ता डाना ह्वाइटले बताएका छन् ।

‘हामी सिरियामा युद्ध चाहन्नौँ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको घटनालाई बेवास्ता गरिरहन पनि सक्दैनौं’, ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँग भने । आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानुनतस् पुष्टि भएको उनले दाबी गरे ।

लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीन ठाउँमा हमला गरिएको र निशाना सही पुष्टि भएको दाबी गरेका छन् । ‘कारबाही एकदम उचित, सशक्त र प्रभावकारी छ’, म्याककेन्जीले भने । अमेरिकी नेतृत्वमा भएको पछिल्लो संयुक्त कारबाहीले सिरियाको रासायनिक हतियार कार्यक्रम वर्षौं पछि धकेलिने दाबी गरे ।

यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी घौटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्रा्ष्ट्रिय विज्ञहरूले जनाएका छन् ।

विज्ञहरूका अनुसार घौटा र डौमामा पनि यस्ता हतियारबाट आक्रमण भएको अनुमान गरिएका विवरण आएका छन् । यसमा संलग्नलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो हमला आतंककारी सरह भएको बताउँदै यस्तो अविवेकी हमलाका लागि सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको आरोप लगाएका छन् । यसका साथै ट्रम्पले सिरियाली सरकारका साझेदार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान पनि यसमा दोषी रहेको बताएका छन् । यस्तो क्रूर कार्यका लागि सिरियासरकार र उसका सहयोगीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी ट्रम्पले दिका छन् । घौटा र डौमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको छ । ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि आक्रमणको शिकार बनेका छन् ।

अमेरिकाले अन्तर्राष्ट्रिय मूल्यमान्यता उल्लंघन गरेर सिरियामा आक्रमण गरेको रूसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रूसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो ।

इरानका सर्वोच्च नेता अयतोल्लाह अलि खमेनीले पश्चिमा शक्तिले सिरियामा गरेको आक्रमणलाई ‘अपराध’को संज्ञा दिएका छन् ।

सिरियामा भएको हवाई आक्रमणको चीनले पनि आलोचना गरेको छ । चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा गरिएको आक्रमणको आलोचना गरेको हो । सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्रा्ष्ट्रिय कानुनको दायरामा फर्किन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्