वैशाख २, काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा करिब सवा १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब साढे ७० प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिँदै गएको लगायत कारणले एफडीआई बढेको हो ।
अघिल्लो वर्ष भएको लगानी सम्मेलनमा करिब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । वास्तविक रूपमा भित्रिएको रकमको आधारमा पनि गत आर्थिक वर्षमा लगानीकर्ताको आत्मविश्वासमा सुधार भएको देखिन्छ ।
पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढ्दै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएको लगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको अनुमान गर्न सकिन्छ ।
एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको, स्थिर सरकार गठनका लागि वातावरण बनेको लगायत कारण लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने देखिएको छ । यस्तो अवस्थामा मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने सम्भावना बढ्छ ।
हालसम्म भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत, पर्यटन र सिमेन्ट उद्योगमा आएको राष्ट्र बैंकको तथ्यांक छ ।
उद्योग विभागको तथ्यांकअनुसार गत वर्ष १५ अर्ब १ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यो उद्योग विभागमा जनाइएको प्रतिबद्धता हो । विदेशी लगानी आउँदा सुरुमा उद्योग विभागमा दर्ता गरेर अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म नेपाल भित्रिएको विदेशी लगानीमध्ये सबैभन्दा बढी होङ्सी शिवम् सिमेन्टमा आएको छ । उक्त कम्पनीमा ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी आएको राष्ट्र बैंक्को तथ्यांक छ ।
यसैगरी मादी पावरमा करिब २ अर्ब र सोलु हाइड्रोमा करिब साढे १ अर्ब रुपैयाँ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा करिब ६८ करोड विदेशी लगानी आइसकेको राष्ट्र बैंकले जनाएको छ ।