Logo

एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प गरौँ : प्रचण्ड



बुर्तिबाङ्ग, २ वैशाख : नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकभित्र समृद्ध नेपाल निर्माणको सङ्कल्प गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ्गमा आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीव्र आर्थिक विकास गर्ने सङ्कल्प गर्न आह्वान गर्नुभयो ।

‘विकासको निम्ति निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यबिना तीव्र आर्थिक विकास हुन सक्दैन । त्यस कारण निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेका छौँ’ उहाँले भन्नुभयो ‘निजी सार्वजनिक र सहकारीको सहकार्यबाट हामी आउने एक दशक भित्र नयाँ र समृद्ध नेपाल निर्माण गरिछाड्ने सङ्ककल्प गरौँ, म सबैलाई आह्वान गर्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले समृद्धिको यात्राका लागि राष्ट्रिय एकतालाई केन्द्रमा राखेर लाग्न प्रतिपक्षी दललाई आह्वान गर्नुभयो । ‘एकता नबनेको भए न १२ बुँदे समझदारी, न शान्ति सम्झौता हुन्थ्यो, न त संविधान, सङ्घीय गणतन्त्र, ३ तहको सरकार, विकासको निम्ति राष्ट्रिय सङ्कल्प नै हुने थियो’ उहाँले भन्नुभयो ‘हामी अहिलेपनि विकासको एजेन्डामा, निर्माणमा, समृद्धिमा, स्थायीत्वमा कोही सत्तापक्ष र प्रतिपक्ष होईनौँ । हामी राष्ट्रिय एकतालाई केन्द्रमा राखेर विकासको काममा हातेमालो गर्न सत्तापक्ष वा वामगठबन्धन त्यसको लागि सहकार्य गर्न तयार छ ।’

नेपाली जनता ६० वर्षदेखि राजनीतिक अराजकताको चपेटामा परेकोले विकासका काममा पछाडि परेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ संविधान बनेपछि त्यो स्थितिको अन्त्य भएको बताउनुभयो ।

‘एउटा सरकारले अगाडी सारेका कामहरू अर्को सरकारले आएर भत्काईदिने र अर्को नयाँ योजना अगाडी सार्दा नेपाली जनता जहिले पनि अन्योलमा जहिले पनि भ्रममा रहनुपर्ने बडो बिचित्रको विडम्बना पनि हामीले भोग्यौँ’, उहाँले भन्नुभयो ‘नेपालको इतिहासमा यी सबै चुनैतिहरुलाई पार गर्दै नयाँ राष्ट्रिय एकता कायम गर्ने र नयाँ वातावरण निर्माण गर्ने सङ्घीयताको, गणतन्त्रको, समावेशिताको, समानुपातिकताको, विकासका लागि शिक्षालाई, स्वास्थ्यलाई,रोजगारीलाई मौलिक अधिकारको रूपमा व्याख्या गरेको संविधान निर्माण गरेका छौँ, यसले धनी र गरिबको बिचको दुरी घटाउने कुरा गरेको छ । ’

अध्यक्ष प्रचण्डले २०७५ साल विदेशमा रहेका नेपाली युवाहरू देशभित्रै फर्कने शुरुवाती वर्षको रूपमा हेर्न पनि अपिल गर्नुभयो । ‘देशबाहिर रहेका सम्पूर्ण नेपालीलाई अव नेपालभित्रै रोजगारी सृष्टि गर्ने र आर्थिक विकासका गति प्रदान अभियान चलेको छ’, उहाँले भन्नुभयो ‘यो नयाँ वर्ष नेपाली युवाहरू देशभित्रै फर्कने वर्षको रूपमा हेर्नका लागि अपिल गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्