Logo

प्रिमियर लिग : म्यान्चेस्टर सिटी उपाधिबाट तीन अंक टाढा



लण्डन, २ बैशाख । टोटनहम हटस्पर्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यान्चेस्टर सिटी प्रिमियर लिग उपाधिबाट मात्र ३ अंकले टाढा रहेको छ ।

यद्यपि, आइतबार वेस्ट ब्रोमसँग र बुधबार बोर्नेमाउथसँग दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेड पराजित भए सिटीले स्वतः उपाधिमाथि कब्जा जमाउने छ ।

च्याम्पियन्स लिगमा लिभरपुलसँग पराजित हुँदै बाहिरिएको सिटीले स्पर्सविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

खेलको २२ औँ मिनेटमा ग्याब्रियल जिससले सिटीलाई अग्रता दिलाए भने तीन मिनेटपछि पेनाल्टीलाई इल्के गुन्डोगानले पेनाल्टीबाट सिटीको अग्रता दोब्बर बनाए ।

तर, पहिलो हाफ सकिन लाग्दा क्रिस्टियन एरिक्सनले स्पर्सका लागि एक गोल फर्काए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ७२ औँ मिनेटमा राहिम स्टर्लिङले गोल गर्दै सिटीका लागि तीन अंक बटुले ।

यो सिजन सिटीका लागि घरेलु मैदानबाहिर १४ औँ जीत हो । एउटै प्रिमियर लिग सिजनमा घरेलु मैदानबाहिर सबैभन्दा बढी जीत चेल्सीले सन् २००४–०५ सिजनमा १५ पटक हासिल गरेको छ ।

जीतपछि सिटीको ३३ खेलबाट ८७ अंक रहेको छ । स्पर्स भने ६७ अंकसहित लिगको चौँथो स्थानमा रहेको छ ।

शनिबार भएको अन्य खेलमा लिभरपुलले एएफसी बोर्नेमाउथलाई ३–० गोल अन्तरले पराजित गर्यो । लिभरपुलको जीतमा साडियो माने, मोहमद शलाह र रोबर्टो फर्मिन्होले एक–एक गोल गरे ।

योसँगै लिभरपुलले सबै प्रतियोगितामा आफ्नो गोल संख्या १ सय २१ पुर्याएको छ । जसमध्ये लिभरपुलका माने, शलाह र फर्मिन्होले मात्र ८३ गोल गरेका छन् । क्लपको नेतृत्वमा लिभरपुलले १४८ खेलमा ३ सय गोल गर्न सफल भएको छ ।

लिभरपुल ७० अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । शनिबार भएका अन्य खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई ३–२, हडर्सफिल्डले वाटफोर्डलाई १–० तथा बर्ननलीले लेस्टर सिटीलाई २–१ गोलअन्तरले पराजित गर्यो । एभर्टन र स्वान्सी सिटीले भने १–१ को बराबरी खेले । एजेन्सी 



प्रतिक्रिया दिनुहोस्