Logo

जनतासँग गरेका बाचा पूरा गर्न सरकारलाई नेता पौडेलको आग्रह



बाबियाचौर, म्याग्दी ५ वैशाख (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको सपना देखाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई भ्रममा पारेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री र मन्त्रीहरूले भाषणमा सपना देखाउने तर व्यवहारमा केही गर्न नसकेको भन्दै नेता पौडेलले बहुमत प्राप्त सरकारलाई जनताले राहत महसुस गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लगाउँदै उहाँले कार्यकर्ताको योगदान, क्षमता र लोकप्रियताको सम्मान गर्न नसक्दा काँग्रेसले तीनै तहको चुनावमा नराम्रो हार ब्यहोर्नुपरेको बताउनुभयो ।

चुनावी हारको विषयमा निर्मम समीक्षा हुन जरुरी रहेको बताउँदै नेता पौडेलले सभापति देउवाले नैतिक जिम्मेवारी लिनुपर्ने दाबी गर्नुभयो ।

निर्वाचनमा काँग्रेस पराजित भए पनि सिद्धान्त र विचारले जितेको उहाँको दाबी थियो । जनताको सेवा र उनीहरूको स्वार्थलाई प्राथमिकता दिएर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

यसैगरी आज बाग्लुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले देश र जनताको सेवामा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अन्य दलले झूठा नारा र आश्वासन बाँडेको भन्दै उहाँले विकासको नेतृत्व काँग्रेसले गर्दै आएको दाबी गर्नुभयो । “जनताको प्यारो काँग्रेस बन्न थप मेहनती र कर्मशील बन्न आवश्यक छ” उहाँले भन्नुभयो, “अब काँग्रेस जगाऔं अभियान शुरु हुन्छ ।” पार्टीभित्र मौलाएको गुटले चुनावमा हार ब्यहोर्नु परेको उहाँको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्