काठमाडौं, ८ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे अन्यौलता बढिरहेको बेला भोलि बैशाख ९ गते अर्थात कम्युनिष्ट पार्टीको स्थापना दिवसर पारेर दुवै पार्टीका प्रमुख नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भोलि विशेष सम्बोधन गर्ने भएका छन् ।
औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन्।
सूत्रहरुले दिएको जानकारी अनुसार दुवै पार्टीका अध्यक्षद्धय ओली र प्रचण्ड एकता चाँडै हुनेमा पूर्ण विश्वस्त छन् । उनीहरुबीच एकताबारे विवादित रहेका विषयहरुमा समेत सहमति बनिसकेको छ ।
प्राय ः सबै विषयमा दुवै पार्टीका नेताहरुबीच सहमत भएपनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट उक्त सन्देश दिनेबारे ओली र प्रचण्डबीच सहमति बनेको छ।
पार्टी एकता संयोजन समितिको आयोजनामा भोलि आईतबार राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।
उनीहरुले एकताबारे बाहिर बजारमा रहेका सबैखाले भ्रमहरु चिर्नेगरि सम्बोधन गर्ने बुझिएको छ ।