Logo

म एमालेमा प्रवेश गर्ने कुरा झुटो हो, छिटै पार्टी एकता हुन्छ : श्रेष्ठ



वैशाख ११, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको बताएका छन् ।

यस्ता अनावश्यक कुराले कसैलाई पनि भ्रममा पार्न सक्ने अवस्था नरहेको भन्दै उनले आफ्ना बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए ।

“निश्चित रुपमा मैले वामपन्थी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको हुँ । तर निर्णायक पहल भने प्रचण्ड र केपी ओलीले नै गर्नुभएको हो । दुवै पार्टी एक हुँदैछ । म कमरेड प्रचण्डकै टिमसँग एकतावद्ध छु । अन्यथा सोच्नुपर्ने आवश्यकता छैन ।” श्रेष्ठले भने ।

“जहाँसम्म म एमालेमा जाने भनिएको छ, त्यो सर्वथा झुट हो । त्यसरी सोच्नुपर्ने आवश्यकता पनि छैन ।”

आफूले पार्टी एकताका लागि प्रचण्डलाई कुनै दबाब नदिएको तर सहयोग गरिरहेको श्रेष्ठले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले एमाले र माओवादीबिचको पार्टी एकता छिटै हुने दाबी पनि गरे ।

फरक फरक पृष्ठभूमिका दलबिचको पार्टी एकता प्रक्रिया भएकाले केही ढिला हुनु स्वभाविक भएको श्रेष्ठको भनाई छ ।

एकताको मिति अहिले नै किटान गर्न नसकिए पनि छिटै एकता हुने उनको दाबी छ ।

पार्टी एकता लक्ष्यमुखी हुनुपर्ने भन्दै श्रेष्ठले केही समय शक्ति सुदृढ गर्नका लागि गरिने एकताले जनतालाई केही पनि दिन नसक्ने बताए ।

उनले केही समय सरकार चलाउनका लागि मात्रै एकता हुन लागेको नभै देश र जनतालाई उपलब्धि दिनका लागि दुई दल मिल्न लागेको बताए ।

जनताको जीवन फेर्ने गरी अगाडि बढ्नका लागि समाजिक न्यायसहितको समृद्धि हासिल गर्नु नै अहिलेको लक्ष्य भएको श्रेष्ठले बताए । संविधानअनुसार समाजवादको बाटोतर्फ जाने गरी सैद्धान्तिक रुपमा दुई दलबिच एकता गरिने उनको भनाई छ ।

दुई ठूला कम्युनिष्ट पार्टीबिचको एकता भएकाले सम्मानजनक एकता हुनुपर्ने श्रेष्ठको भनाई छ । “लक्ष्यमुखी, सिद्धान्तनिष्ठ र सम्मानजनक एकता हुन्छ ।” श्रेष्ठले भने ।

प्रधानमन्त्री पदलाई आलोपालो गर्ने कुरा आवश्यक नरहेको श्रेष्ठको भनाई छ । “वामपन्थी गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा मात्रै हामी केन्द्रित र्छौँ ।”



प्रतिक्रिया दिनुहोस्