वैशाख ११, काठमाण्डौ । नेपालमा लोकतन्त्र दिवस जनआन्दोलन २०६२–६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनः स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते मनाइन्छ ।
विसं २०६२–६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते संसद् पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको सो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।
यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले लोकतन्त्र आएपछि जनताले विकास र समृद्धि पाउनुपर्ने भए पनि त्यो सफलता हासिल हुन नसकेको बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र कमजोर भएको बताएका हुन् ।
“राष्ट्र र जनताको समृद्धिभन्दा सिंहदरबारको कुर्सीलाई हामीले प्राथमिकता दियौँ । जसका कारण गणतन्त्र र प्रजातन्त्रको नाममा सिमित व्यक्तिहरु मात्रै मोटाए ।” भण्डारीले भने ।
देशलाई मागि खाने भाँडो बनाएर युवाहरुलाई विदेश जान बाध्य बनाइनु दुखद भएको उनको भनाई छ ।
नेपालमा नेतृत्व वर्ग कमजोर भएकाले देश विकास हुन नसकेको भण्डारीको दाबी छ ।
नेपालमा लोकतन्त्र स्थापित हुनुमा पत्रकार ऋषि धमलाको महत्वपूर्ण योगदान रहेको भन्दै भण्डारीले प्रशंसा गरे ।
त्यसैगरी नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले लोकतन्त्रका लागि एकसाथ लडेको भन्दै ऋषि धमलाको स्मरण गरे ।
लोकतन्त्र प्राप्तिपछि जनताले धेरै कुरा पाएको भन्दै दीक्षितले निराशा मात्रै हुनुपर्ने अवस्था नरहेको बताए ।
“तीन चरणको चुनाव सम्पन्न भयो । मधेश र जनजाती शान्त छन् । स्थिर सरकार पाएका छौँ । अब आर्थिक विकासमा लम्किन सकिन्छ ।” उनले भने ।
लामो समयदेखिको अस्थिरता अन्त्य भएको भन्दै उनले पाँच वर्ष चल्ने सरकार पाउनु सकारात्मक भएको दाबी गरे ।
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिच मिलेर देश र जनताका लागि पाँच वर्ष स्थिर सरकार चलाउनुपर्नेमा दीक्षितले जोड दिए ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लोकतन्त्रपछि जनताले संविधान र अधिकार प्राप्त गरेको भन्दै त्यसलाई रक्षा गर्नुपर्नेमा जोड दिए ।
लोकतन्त्रपछि राजनीतिक संक्रमणकालको अन्त्य भएको भन्दै श्रेष्ठले अबको दिनमा संविधान कार्यान्वयनको चरण पार गर्दै विकास र समृद्धि हासिलको बाटोमा हिँड्नुपर्ने बताए ।
“अब पनि दल, नेता र सरकारले जनताको आकांक्षा र शहिदको सपना पूरा गर्ने गरी काम गर्न सकेन भने क्षम्य हुँदैन ।” श्रेष्ठले भने ।
विगतमा निरंकुश शाषनका कारण देश विकास गर्न नसकिएको कुरा सत्य भएको तर अब कुनै पनि बहानामा जनतालाई ठग्न नसकिने बताए ।
“पाँच वर्ष टिक्ने सरकार बनाएका छौँ । अब हामी विकास र समृद्धिको लक्ष्य पूरा गर्ने गरी अगाडि बढ्नुपर्छ ।” श्रेष्ठले भने ।
तर अझै पनि फलामे ढोका फुटाउन बाँकी नै रहेको श्रेष्ठले बताए । फलामे ढोका फुटाएर भित्र छिरेपछि मात्रै समृद्धिको दिशातर्फ जान सक्छौँ । “फलामे ढोका भनेको भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासनको स्थापना हो ।” उनले भने ।
नेकपा एमाले नेता एवम् संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितले लोकतन्त्रपछि राजनीतिक स्थायित्व आइसकेको दाबी गर्दै अब प्रशासनिक रुपमा भने संक्रमणका रहेको बताए ।
पछिल्लो समयको परिवर्तनले नेताको चरित्र परिवर्तन हुन नसकेको भन्दै पण्डितले परिवर्तनलाई अंगाल्दै जानुको विकल्प नभएको बताए ।
“गलत प्रवृत्तिलाई त्याग्दै र दण्डहिनताको अन्त्य गर्दै विकास र समृद्धिको बाटोमा हिँडनका लागि अब कसैले रोक्दैन । यही नै लोकतन्त्रको उपलब्धि हो ।” पण्डितले भने ।
लोकतन्त्र आएपछिका हरेक वर्ष लोकतन्त्र दिवसका नाममा सार्वजनिक विदा दिइएको थियो । तर यसपटकदेखि भने यस दिवसमा दिँदै आएको विदा कटौति गरिएको छ ।
मन्त्री पण्डितले नेपालमा सार्वजनिक विदा धेरै भएकाले केही विदाहरु कटौति गरिएको बताए ।