Logo

परीक्षा मर्यादित बनाउनका लागि केन्द्राध्यक्ष गोष्ठी



वैशाख ११, काठमाण्डौ । परीक्षालाई मर्यादित बनाउन सके दक्ष जनशक्ति उत्पादन हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षासम्बन्धी केन्द्राध्यक्ष गोष्ठी सम्पन्न गरेको छ ।

ललितपुरमा सम्पन्न गोष्ठीले कक्षा एघार र बाह्रको परीक्षालाई मर्यादित बनाएर विद्यार्थीलाई दक्ष जनशक्तिको रुपमा उत्पादन गर्ने लक्ष्य लिएको छ । परीक्षाका बेला हुने आर्थिक अनियमितता रोक्नेदेखि मर्यादित रुपमा परीक्षा संचालन गर्ने विषय केन्द्राध्यक्षहरुलाई जानकारी दिइएको जिल्ला शिक्षा कार्यालय ललितपुरका प्रमुख देवेन्द्रराज खनालले जानकारी दिए ।

परीक्षाका लागि दिइएको अनुदान रकम खर्चको मापदण्डअनुसार खर्च गरी लेखा परीक्षण गराउनुपर्नेमा गोष्ठीले जोड दिएको छ । नयाँ संरचना अनुसार अब हुन लागेको कक्षाँ ११ र १२ को परीक्षालाई व्यवस्थित रुपमा गराउन मंगलबार ललितपुरमा राष्ट्रिय परीक्षा वोर्डले केन्द्राध्यक्ष गोष्टी सम्पन्न गरेको हो ।

विगतमा भएका परीक्षाहरुलाई मध्यनजर गर्दै आगामी दिनहरुमा परीक्षालाई थप व्यवस्थित गरिने बोर्डको दाबी छ । देशमा भएका युवा वर्गहरु विदेश पलायन भैरहेको अवस्थामा प्लस टु तहबाट नै शैक्षिक प्रणालीमा ध्यान दिन सकेमा देशमा नै दक्ष जनशक्ति उत्पादन गर्न सकिने धारणा वोर्डले राखेको छ ।

गोष्ठीमा प्रहरी चौकीबाट प्रश्नपत्र कसरी बुझ्ने, परीक्षा हाताभित्र कसरी प्रवेश गर्ने, परीक्षा हलमा लान पाउने सामग्री जस्ता विषयमा जानकारी गराइएको थियो ।

त्यसैगरी परीक्षाको आचारसंहिता, परीक्षा अवधिमा आउने समस्या समाधानका उपायहरुबारे पनि गोष्ठीमा सहभागिलाई जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्