Logo

स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : देउवा



काठमाडौँ, १२ वैशाख  : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताउनुभएको छ ।

चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताउनुभयो । “पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,”– उहाँले भन्नुभयो ।

स्वर्गीय ठकुरीले देखेको सपना पूरा गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने सभापति देउवाको भनाइ थियो । उहाँले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाली काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय ठकुरीले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णकुमार राईले स्वर्गीय ठकुरीसँग विपक्षी दलका व्यक्तिलाई समावेश गरेर अगाडि बढ्ने क्षमता भएको बताउनुभयो । “स्वर्गीय ठकुरीको निधनले काठमाडौँ क्षेत्र नं ३ को विकासलाई समेत समस्या पारेको छ,”– उहाँले भन्नुभयो ।

फाउण्डेशनका अध्यक्ष गजेन्द्र महर्जनले स्वर्गीय ठकुरीको नाममा सामाजिक काम गर्ने उद्देश्यले गत वर्षदेखि फाउण्डेशनको स्थापना गरेर सामाजिक काम गर्दै आइरहेको जानकारी दिनुभयो ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवा जिल्लाको केरुङ नाकानजिक ढिस्कोले पुरिएर उहाँको निधन भएको थियो । ठकुरी विसं २०६४ मा काठमाडौँ क्षेत्र नं ३ बाट काँग्रेसको तर्फबाट निर्वाचित सांसद हुनुुहुन्थ्यो भने विसं २०७० को निर्वाचनमा सोही क्षेत्रबाट पराजित हुनुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्