काठमाडौँ, १२ वैशाख : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा आज छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको छ ।
बैठकमा बिमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शंकर भण्डारी, मोहनबहादुर बस्नेत र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राख्नु भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा उहाँहरुले पार्टीले निर्वाचनमा हार्नुका कारण, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्धा एवं आगामी दिनमा पार्टीलाई अगाडि बढाउने विषयमा गम्भीर हुन नेतृत्वको ध्यानाकर्षण गराउनु भएको थियो ।
बैठकमा शंकर भण्डारीले स्व खुमबहादुर खड्काले पार्टीमा पु¥याएको योगदानको कदर गर्नुपर्ने, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य हुनुपर्ने, नेपाली काँग्रेस सरकारमा हुँदा भएका निर्णयको जिम्मेवारीका विषयमा आफ्नो विचार राख्नुभएको थियो ।
उक्त बैठकमा प्रवक्ता शर्माले पराजयका छ वटा कारण प्रस्तुत गर्दै पार्टीभित्रको अन्तरघात, आम नागरिकको मन जित्न नसक्नु, महत्वपूर्ण मुद्दामा बहिर्गमन, सम्प्रेषण क्षमतामा ह्रास, परम्परागत संगठन शैली, सैद्धान्तिक पुनःव्याख्याको प्रश्नजस्ता विषयमा आफ्नो धारणा राख्नुभएको थियो । (रासस)