Logo

कांग्रेस बैठक : गच्छदारले एक्लै बोले ५ घण्टा, पौडेलले के भने ?



काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा लगातार ५ घण्टा बोलेका छन् ।

नेता गच्छदारले हिजो र आज गरि जम्मा ५ घण्टा एक्लै बोलेका थिए । निर्वाचनको समिक्षा गर्न बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा प्रायः शीर्ष नेताहरुले आ–आफ्नो धारणा राखिसकेका छन् ।

युवा नेता गगन थापाको नेतृत्वमा त ५१ पृष्ठ लामो धारणा सभापति शेरबहादुर देउवालाई बुझाईएको थियो । थापाले पार्टीले ७५ प्रतिशत मैदान खाली छोडिदिँदा कम्युनिष्टहरुले आएर खेल जितेको भन्ने आरोप लगाएका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार भोलि महामन्त्री डा. सशांक कोइरला र सभापति शेरबहादुर देउवाले बोलेर बैठक समापन हुनेछ । भोलि समापन हुने बैठकमा सभापति देउवाले प्रस्तुत गरेको प्रस्ताव पारित हुने बुझिएको छ । आजको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेका थिए ।

जेठभित्रै महासमिति बैठक बोलाउन नेता पौडेलको माग

वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठभित्रै महासमितिको बैठक बोलाउन माग गरेका छन्। पौडेलले वैशाखमा पार्टीका जिल्ला सभापतिहरूको भेला गर्नुपर्ने र जेठमा महासमिति बैठक बोलाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्।

नेता पौडेलले पदाधिकारी नियुक्ति छिटो टुंग्याउन पनि आग्रह गरेका छन्। महासमिति बैठकबाट पार्टीको विधान संशोधन गर्नुपर्ने उनले बताए। चुनावमा अन्तरघात गर्नेलाई कारवाहीको दायरामा ल्याउन पौडेलले माग गरेका छन्।

उनी तनहुँबाट चुनाव हारेका थिए। यस्तै, नेता पौडेलले केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवालाई बुझाएको पत्रको पनि बचाउ गर्दै गुट मात्रैको होइन सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका हुन्। पौडेलले सभापतिलाई पेश गरेको पत्रले बैठक अवधिभर चर्चा पाएको थियो।

आफ्नै घर सम्झिएर कांग्रेसमा फर्किएँ, जिम्मेवारी दिनुपर्‍यो : गच्छदार

नेता विजयकुमार गच्छदारले आफ्नै घर सम्झिएर कांग्रेसमा फर्किएकोले पार्टीले आफूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन्। चुनावको संघारमा उनले लोकतान्त्रिक फोरम कांग्रेससँग समायोजन गरेका थिए।

‘चुनावका बेला कम्युनिष्टहरूले तालमेल गर्नुपर्छ भनेका थिए मैले मानिनँ,’ गच्छदारले बैठकमा भने, ‘आफ्नै घर सम्झिएर कांग्रेसमा फर्किएको हुँ। त्यसैले पार्टीले जिम्मेवारी दिनुपर्‍यो।’

यस्तै, उनले पार्टी समायोजनका बेला गरेका सहमतिको कार्यान्वयन हुनुपर्ने माग गरेका छन्। लोकतान्त्रिक फोरमबाट आएका नेतालाई सम्मानित पद तथा जिम्मेवारी दिनुपर्ने उनको माग छ।

पार्टी समायोजन गरेको लामो समयसम्म पनि आफू भूमिकाविहीन भएकोमा गच्छदार असन्तुष्ट छन्। नयाँ उर्जाका साथ पार्टीलाई अघि लैजानुपर्नेमा उनले जोड दिएका छन्।  यसअघि नै गच्छदारले केन्द्रीय सदस्य बनाउनुपर्ने भन्दै नेताहरूको नाम प्रस्ताव गरेका थिए।



प्रतिक्रिया दिनुहोस्