Logo

भ्रष्टाचार अन्त्य गर्न नसके सरकारमा बस्दैनौँ : रिमाल



सरकारले पानी तताईरहेको छ, उम्लिएपछि सबैले देख्छन्

वैशाख १५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले सरकारले जनतालाई परिणाम दिने गरी गृहकार्य गरिरहेको बताएका छन् ।

अहिले आन्तरिक रुपमा गृहकार्य भइरहेकाले केही काम नगरेको जस्तो देखिए पनि गृहकार्य सकिएपछि जनताले अनुभूति गर्ने गरी परिवर्तनको ढोका खुल्ने दाबी रिमालले गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले अहिले पानी तातिरहेको र त्यो पानी उम्लिएपछि सबैले देख्ने बताए ।

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार अन्त्य गरेर सुशासनको सुरुवात गर्ने दाबी गर्दै रिमालले भने, “भ्रष्टाचारको अन्त्य, सुशासन कायम र राम्रो काम गर्न सकिदैन भने त हामी सरकारमा बस्दै बस्दैनौँ ।”

सरकार अहिले आगामी बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटेको उनले जानकारी दिए । रारा सम्बोधन र चुनावी घोषणापत्र, बामदेव गौतम नेतृत्वको कार्यदलले दिएको सुझाब, जनताका चाहनामा आधारित नीति, कार्यक्रम र विकास निर्माणका योजना सरकारले ल्याउने उनले बताए ।

जेठको पहिलो हप्ताभित्र नीति तथा कार्यक्रम आउने उनको दाबी छ ।

एमाले–माओवादीबिचको पार्टी एकताको गृहकार्य प्रभावकारी रुपमा अगाडि बढिरहेको बताउँदै उनले सबै कुरा मिलेपछि एकता हुने बताए ।



प्रतिक्रिया दिनुहोस्