Logo

कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठक, केके भए, अब के हुन्छ ?



वैशाख १५, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचन समीक्षा बैठक १३ औँ दिन पनि जारी रहनेछ । सम्भवत आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीले दिनेछन्, र बैठक समापन हुनेछ ।

आजको केन्द्रीय समितिमा महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी प्रतिवेशन प्रस्ताव पेश गर्नेछन् भने सभापति शेरबहादुर देउवाले नेतृत्वमाथि उठेका सवालको जवाफ दिने तयारी गरेका छन् ।

महामन्त्री कोइरालाको प्रस्ताव प्रतिवेदन अन्तिम रुप दिन ढिलाई भएकोले हिजोको बैठक स्थगित भएको थियो ।

महामन्त्रीले आफ्नो प्रतिवेदन प्रस्ताव पेश गरेपछि सभापति देउवाले केन्द्रीय समितिमा उठेका सवालहरूको उत्तर दिनेछन् ।

१३ दिनसम्म चलेको बैठकमा केन्द्रिय सदस्यहरुले कांग्रेसले चुनावमा बेहोरेको पराजयको कारण, अबको बाटो र आरोप प्रत्यारोपमा समय खर्चिएका थिए ।

सभापति देउवाकै कारण निर्वाचनमा हार व्यहोरेको अधिकांश केन्द्रीय सदस्यको आरोप छ । देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुँदा पनि कांग्रेसको लज्जास्पद हार भएकोले यसको जिम्मा सभापतिले नै लिनुपर्ने उनीहरूको आरोप छ । यसबारे उनको जवाफको प्रतीक्षामा छन् केन्द्रीय सदस्यहरू।

केन्द्रीय सदस्यहरूले चाँडै महासमितिको बैठक डाक्नसमेत सभापतिलाई आग्रह गरेका छन् । महासमितिमा विशेष महाधिवेशनको प्रस्ताव लैजान यस्तो आग्रह गरेका हुन् । निर्वाचनमा मात्र नभई विधानसम्मत सभापति नचलेको र भातृ संगठनहरुको बेहाल भएको भन्दै महासमिति माग गरिएको हो । यसबारेमा पनि देउवाको सम्बोधनको पर्खाइमा केन्द्रीय सदस्यहरू छन् ।

नियमानुसार महाधिवेशनमा जाँदा ढिला हुने भएकाले ताजा मत लिनका लागि गगन थापालगायतका केन्द्रीय सदस्यहरूले अर्ली महाधिवेशनको माग गरेका छन् । यसका लागि विधान संशोधन गर्नुपर्ने हुन्छ ।

विधान संशोधन समिति गठन गरी यसबारे पनि सम्बोधन गर्नका लागि केन्द्रीय सदस्यहरूले दबाब दिएका छन् ।

कांग्रेसको १३ औँ महाधिवेशन सकिएको दुई वर्ष भइसकेको छ । तर पनि पदाधिकारीले पूर्णता पाएको छैन । उपसभापति, एक महामन्त्री, सहमहामन्त्रीको पद अझै रिक्त रहेको छ । त्यसै गरी सदस्यहरू पनि किस्ताबन्दीमा नियुक्त हुँदै आएको छ । आज देउवाले यसबारेमा पनि सम्बोधन गर्ने अनुमान गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउन कांग्रेसका कतिपय नेताले देउवाको राजीनामाको माग गरेका थिए । नैतिक रूपमा उनको राजीनामा आउनुपर्ने जिकिर ती केन्द्रीय सदस्यहरूले गरेका थिए । तर केन्द्रिय समित बैठकमा भने सभापतिको राजिनामा मागिएन ।



प्रतिक्रिया दिनुहोस्