Logo

हारको जिम्मेवारी सभापति देउवाले मात्रै लिन सक्नुहुन्न : विश्वकर्मा



वैशाख १६, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक अन्तिम समयमा आएर पुनः स्थगित भएको छ । केन्द्रिय समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ सभापति शेरबहादुर देउवाले दिने चरणमा पुगेपछि बैठक रोकिएको हो ।

नेपाली कांग्रेसमा चुनाव हारको जिम्मेवारी कसले लिने भन्ने विवादले चर्को रुप लिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच दिनभर भएको सहमति प्रयास सफल हुन सकेन र केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भएको हो ।

कांग्रेस केन्द्रिय सदस्य मिन विश्वकर्माले सबै केन्द्रिय सदस्यले बोलेको बैठक भएकाले त्यसको निष्कर्ष ठोस बनाउनका लागि बैठक समापनको तयारी भइरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले दीर्घकालिन प्रभाव पार्ने गरी बैठक सक्नुपर्ने नेताहरुको निष्कर्ष भएकाले त्यसको गृहकार्यमा जुटेको बताए ।

शनिबारको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी थियो ।

महामन्त्रीको प्रतिवेदन बनाउन शेरबहादुर देउवा र रामचन्द्र पौडेलका नेताहरुले सहयोग गरेका थिए । तर, चुनावी हारको जिम्मा कसले लिने भन्नेमा देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति हुन सकेन ।

निष्कर्ष र निर्णय लेखनका लागि सबैको भावना समेट्ने प्रयास सभापति देउवाले गरिरहेको विश्वकर्माले बताए ।

“सबैको भावना समेटिने शब्द राखेर संक्षिप्त र बहु अर्थ दिने खालको प्रभावकारी दस्ताबेज बनाउँ भन्ने सभापतिको मनसाय छ । त्यसैले पनि समय लागेको हो । लगभग सहमति भइसक्यो । भाषा मिलाउने काम मात्रै बाँकी छ ।” विश्वकर्माले भने ।

लिखित रुपमै चुनावी हारको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने अधिकांश सदस्यहरुको माग रहेको तर सभापति देउवाले जिम्मेवारी लिन नमानेकाले अन्तिम लेखन टुङ्गोमा पुग्न नसकेको बताइएको छ ।

यता देउवा पक्षीय नेता विश्वकर्माले भने सबै काम सभापतिले मात्रै नगरेको, सबैको सामुहिक निर्णयबाट पार्टी चलेको हुनाले सामुहिक जिम्मेवारी लिनुपर्ने बताए ।

“सभापतिका कारणले निर्वाचनमा हार्यौ भन्नु नै एउटा भ्रमपूर्ण समाचार हो । १२ औँ महाधिवेशनदेखि कांग्रेस सामुहिक नेतृत्वमा छ । प्रचार प्रसार समितिको प्रमुख, निर्वाचन परिचालन समितिका संयोजनक अरुलाई नै बनाइएको थियो । उहाँहरुले सबै जिम्मेवारी देउवाले लिनुपर्छ भन्नु गलत हो ।” उनले भने ।

भोलि पार्टी सभापति शेरबहादुर देउवाले बोल्ने र त्यस आधारमा प्रस्तावलाई अन्तिम रुप दिने प्रयास भइरहेको छ । पौडेलसहितका शीर्ष नेताहरुले नोट अफ डिसेन्ट लेख्ने अवस्था आउने नदिने देउवा पक्षको रणनीति छ ।

देउवा र पौडेल समूहबीच महासमिति बैठक कहिले राख्ने भन्नेमा पनिसहमति जुटेको छैन । देउवा समूहले साउन अन्तिम वा भदौंमा गर्ने प्रस्ताव राखेका छन् तर, अरुले जेठ अन्तिममा गर्न माग गरेका छन् ।

सहमतिको प्रयास लम्बिएपछि युवा नेताहरुले चुनावी समिक्षाको प्रस्ताव पार्टी सभापतिले नै ल्याउने र त्यसमा सहमत नहुनेहरु आफ्नो राख्ने विकल्प पनि दिएका थिए । तर, न सहमति जुट्यो न युवा नेताहरुको विकल्पमा नै जान तयार भएका छन् ।

बैठक आइतबार विहान ११ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्