Logo

पत्रकार र प्रहरी मिलेर व्यवसायीलाई धम्क्याएको आरोप



काठमाडौं, १७ बैशाख । २० वर्षदेखि कपडा व्यवसायमा संलग्न व्यापारी सन्जिव घोषले आफूलाई पत्रकार र प्रहरीले मिलोमतोमा व्यवसायमाथि नै खतरा निम्त्याउनेगरि धम्क्याउने र बाधा तथा अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित व्यवसायी घोषले यस्तो गम्भिर आरोप लगाएका हुन् । घोषका अनुसार उनी विगत दुईकदेखि झापा भद्रपुर नगरपालिका ७ मा कपडा व्यवसाय संचालन गर्दै आएका छन् ।

उनले भने,‘म वैधानिक रुपमा व्यवसायिक मर्यादाभित्रै रहेर व्यवसाय गर्दै आएको यहाँहरुलाई अवगत गराउन चाहन्छु, पछिल्लो समय म र मेरो व्यवसायमाथि खतरा निम्तिनेगरी केही व्यक्तिहरुको मिलेमतोमा धम्क्याउने तथा बाधा–अवरोध गर्न खोज्ने कार्यले म पीडित बन्न पुगेको छु ।’

धरान स्थायी घर भई सुनसरीमा बसरेर पत्रकारिता गर्दै आएका चन्द्रमणि कट्टेलले “तलाई काम गर्न दिन्न” भन्ने वाक्याशं प्रयोग गर्दै विगत दुई वर्षदेखि आफूलाई धम्की दिने गरेको घोषको आरोप छ ।

आफूले सरकारको नियमभित्र रही व्यवसाय गर्दै आएपनि अन्य कपडा व्यवसायी (जो तस्कर गरेर कपडा व्यवसाय गरिरहेका छन्) उनीहरुको मिलेमतो र बहकाउमा लागेर पहिलो किताब अनलाईनका प्रबन्ध निर्देशक समेत रहेका पत्रकार कट्टेलले आफ्नो व्यवसायविरुद्धमा गलत समाचार प्रकाशन गर्दै आएकोप्रति उनले आपत्ति जनाएका छन् ।

उनले भने,‘जसले गर्दा मलाई व्यवहारिक र मानसिक रुपमा पीडा थपिएको छ, मैले कपडा व्यवसाय संचालनका लागि भारतबाट सामान ल्याउने गरेको छु । संचारमाध्यम र केही तस्करमार्फत कपडा व्यवसायी गरिरहेका व्यक्तिहरुको आडमा प्रहरी प्रशासनलाईसमेत हातमा लिई ममाथि षड्यन्त्र गरिएको मेरो ठहर छ ।’

टेलिफोन गरेर व्यवसाय गर्न दिन्न भन्ने र संचारमाध्यममा गलत समाचार प्रकाशन गरेर दुःख दिने काम भैरहँदा नीज पत्रकार कट्टेललाई प्रहरी प्रशासन र तस्करहरुको सहयोग मिलिरहेको घोषको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमोरिया नीज पत्रकार कट्टेलको पक्षमा लागि मैले वैध रुपमा ल्याएका कपडाहरुलाई अवैध ठहर गर्ने गैर–कानुनी काममा संलग्न रहेको उनको आरोप छ । उनले अघि थपे,‘मसँगको टेलिफोन वार्तामा नीज पत्रकार कट्टेलले तेरो सामान मैले नै पक्राएको हो, जे सक्छस त्यही गर भनेर धम्क्याएको वार्तालापको अडियो रेकर्ड मसँग सुरक्षित छ ।’

डिएसपी चिमोरियासँग सम्पर्क गर्न खोज्दा फोन नउठाइएको पनि उनको आरोप छ । उनले भने,‘सत्यतथ्य जानकारी लिन र आफूबाट के गल्ती भयो र सामान अवैध बनाइयो भनेर बुझ्न खोज्दा नीज चिमोरियाले फोन नै नउठाई थप दुःख दिएका छन् ।’

१५ लाख रुपैयाँ बराबरको सामान समातेर अवैध भन्दै ४४ लाख रुपैयाँ धरौटि मागेर डिएसपी चिमोरियाले अवैध व्यापारी र गलत समाचार प्रकाशन गर्ने पत्रकारलाई साथ दिनुले आफूहरुजस्ता वैधता प्राप्त व्यवसायीको भविष्य नै जोखिममा परेको उनको गुनासो छ ।

उनले डिएसपी चिमोरियाले विगतमा पनि सोझा व्यवसायीहरुलाई विभिन्न बहानामा दुःख दिने र फसाउने काम गर्दै आएको आरोप लगाए ।

घोषले आफ्ना सामानलाई अवैध भनि कोशीव्यारेज भन्सारमा राखिएको जनाए । उनले थपे,‘म स्वयम् त्यहाँ पुगेर आफ्नो सामानको बारेमा बुझ्न खोज्दा प्रहरी प्रशासनले प्रवेश नै दिएन । भन्सार प्रमुख सोही दिन झापाको दमक गएको भन्दै भन्सार कार्यालयस्थित प्रहरी प्रशासनले मलाई त्यसै फर्कायो ।’

आफू र आफ्नो व्यवसायमाथि षडयन्त्र गर्ने पत्रकार कट्टेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमोरिया र तस्कर व्यवसायीलाई कानुनी कारबाही गर्न सरकारसँग उनले जोडदार माग गरेका छन् । घोषले भने,‘बेलैमा अवैध र गैर–कानुनी काम नरोक्ने हो भने आगामी दिनमा मजस्ता व्यवसायीको जिउधन असुरक्षित हुने निश्चित छ । त्यसैले यस घटनाका सम्बन्धमा सत्यतथ्य छानबीन गरी दोषीउपर कारबाही गर्नुको विकल्प छैन । यसका लगि मेरोतर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार छु ।’

उनले पटक–पटक आफूले गरेको व्यवसाय पूर्ण रुपमा वैधानिक रहेको जिकिर गरे । उनले भने,‘वैधानिकताका लागि आवश्यक सम्पूर्ण कागजपत्र र प्रक्रिया पूरा गरेर मात्रै व्यवसाय संचालन गर्दै आएको छु । मेरो व्यवसायको वैधानिकताको सम्पूर्ण कागजपत्र आवश्यक परेमा उपलब्धि गराउनेछु । पत्रकार कट्टेलले प्रकाशन गरेका समाचार तथा प्रहरी प्रशासनले ममाथि लगाएका आरोप पुष्टी भए म कानुनबमोजिम दण्डित हुन तयार छु ।’



प्रतिक्रिया दिनुहोस्