Logo

बेलायती गृहमन्त्री रडले दिइन् राजीनामा



लन्डन, १८ वैशाख:  बेलायती प्रधानमन्त्री टेरेजा मेको क्याबिनेटमा प्रभावशाली ठानिएकी गृहमन्त्री एम्बर रडले राजीनामा दिएकी छन् ।

दशकौंअघि बेलायत आएका क्यारेबियन आप्रवासीलाई देश निकाला गर्ने मुद्दा (विन्डरस काण्ड) मा केही सातायता तीव्र आलोचना खेपिरहेकी रडको राजीनामा प्रधानमन्त्री मेले आइतबार साँझ स्वीकृत गरेको डाउनिङ स्ट्रिट स्रोतलाई उद्धृत गर्दै बेलायती अखबारहरूले जनाएका छन् । रडले सोमबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम थियो ।

बेलायतको लोकप्रिय दैनिक गार्डियनले आइतबारको अंकमा गृहमन्त्री रडले प्रधानमन्त्रीलाई पठाएको गोप्यपत्र सार्वजनिक गरेको थियो । पत्रमा रडले केही वर्षभित्र १० प्रतिशत गैरकानुनी (इलिगल) आप्रवासी हटाउने महत्वाकांक्षी लक्ष्य लिएको उल्लेख थियो ।

तर, गत साता संसदको होम अफेयर्स कमिटीमा बयान दिने क्रममा उनले आप्रवासी हटाउने लक्ष्यबारे अनभिज्ञता प्रकट गरेकी थिइन् । रडको अध्यागमन नीतिप्रति सांसदहरू नै असन्तुष्ट थिए । दुई सयभन्दा बढी सांसदले विन्डरस काण्डमा रडविरुद्ध हस्ताक्षर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्