Logo

‘मालिका’ सपनासँग सम्झौता गरेर बाँच्ने छोरी चेलीहरुको कथा हो : थापा (भिडियो)



वैशाख १९, काठमाण्डौ । नायिका तथा निर्माता रेखा थापाले आफ्नो चलचित्र ‘मालिका’का लागि नायिकाको टुंगो लगाएकी छन् ।

कर्णाली प्रदेशमा निर्माण हुने चलचित्र मालिकाका लागि जाजरकोटको भेरी नगरपालिका–१ कालेगाउँकी १४ वर्षीया कमला वली नायिकाका लागि रेखाको रोजाइमा परेकी हुन् ।

आफ्नो नयान् फिल्मका लागि नायिका खोज्न कर्णालीका विभिन्न जिल्ला पुगेकी रेखाले अन्ततः कमलालाई नै मुख्य भूमिकामा स्थान दिने निर्णय गरेकी हुन् ।

पछिल्लो समय छोरीहरुका लागि स्वर्णिम नेपाल महाअभियानमा देश दौडाहामा लागेकी नायिका रेखा थापाले चलचित्र पनि छोरीहरुको कथाहरुमा आधारित हुने बताएकी छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थापाले अहिलेसम्म टेलिभिजन नहेरेकी र गाडीसमेत नचढेकी व्यक्तिलाई फिल्म खेलाउँदा अन्य पछाडि परेका चेलीहरुलाई पनि प्रेरणा मिलोस भन्ने आफ्नो चाहना रहेको बताइन् ।

“छोरीहरुको कथा हो । सपनासँग सम्झौता गरेर बाँच्ने छोरी चेलीहरुको कथा हो ।” थापाले भनिन् ।

देशमा एक जना महिला राष्ट्रपति हुँदैमा छोरीचेलीले भोग्नु परेको पिडा कम नभएको भन्दै उनले अहिले पनि दाइजो प्रथा, बलात्कारका घटना, बोक्सीको अरोप कम नभएको उनले बताइन् ।

“महिला राष्ट्रपति हुनुभन्दा पनि त्यसले के प्रभाव पार्यो भन्ने कुरा महत्वपूर्ण हो । देशको अभिभावक महिला हुनुहुन्छ । तर दिन दहाडै बलात्कारका घटना भइरहेका छन् ।” उनले भनिन् । “किस्तीमा राखेर दिइएको पदले कुनै प्रभाव पर्दैन । केही महिला प्रतिस्पर्धाबाट पुग्नुभएको होला । अरु त सबै किस्ती प्रवृत्ति र समानुपालितक प्रणालीबाट पुग्नुभएको छ ।”

आफ्नो चलचित्रले प्रेरणा दिने र मार्गदर्शक सावित हुने उनको दाबी छ ।

यस अघि चलचित्रको टाइटल ‘लालमस्तिष्क’ घोषणा गरिएको भएपनि निर्माता थापाले चलचित्रको शीर्षक बदलेर ‘मालिका’ बनाउने निर्णय गरेकी छन् ।

छोरीहरुको चलचित्र भएकोले ‘मालिका’ नै उचित हुने भन्दै थापाले सबैको सुझावका आधारमा टाइटल परिवर्तन गरी ‘मालिका’ बनाइएको जानकारी दिइन् ।

चलचित्रको छायाङ्कन ०७५ बैशाखको अन्तिम साताबाट सुरु हुनेछ । दशैमा प्रदर्शन हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्