काठमाडौं, १९ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच समान हैसियतमा पार्टी एकता गर्न दुबै दलबीच समझदारी भैसकेको बताएका छन् ।
प्रचण्डले बराबरी हैसियतमा एकता गर्नुपर्ने माओवादी अडानमा एमाले सहमत नहुँदा एकतामा अन्योल बढेका बेला समान हैसियतमा एकता गर्न एमाले सहमत भएको आजको बैठकमा बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले ६० र ४० को आधारमा नभई समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताए । एमाले नेतृत्व माओवादीको जनयुद्धलाई स्वीकार गर्न तयार भएको पनि प्रचण्डले बैठकमा बताएको एक नेताले बताए ।
त्यसैगरी, प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनैपनि नेताहरु एकीकृत पार्टीमा उचित हैसियतमा रहने गरी व्यवस्थापन गर्न लागिएको अध्यक्षले बताएको बैठकपछि प्रवक्ता पम्फा भुसालले पत्रकार ऋषि धमलालाई जानकारी दिईन् ।
प्रचण्डले बिहिबार नै एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी रहेका विषयमा छलफल गर्ने बताइन ।