ऋषि धमला : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै कीर्तिमान राखिसकेका छन् । भारतीय जनता पार्टीले पहिलोपटक लोकसभामा बहुमत ल्याउँदा उनी प्रधानमन्त्री बने । विदेश सम्बन्धमा पनि छिमेकलाई प्राथमिकतामा राखेर काम गरे । सन् २०१४ मा प्रधानमन्त्री भएपछि उनको पहिलो विदेश भ्रमण भुटानमा भयो र दोस्रो नेपालमा । नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ । उनी राजनीतिको तल्लो तहमै रहँदा नेपाल भ्रमण गरेको खुलाइसके । मोदीले प्रधानमन्त्री भएकै वर्ष नेपाल भ्रमण गर्दै कुनैपनि भारतीय प्रधानमन्त्रीबाट नेपालको १७ वर्षयता राजकीय भ्रमण नभएको अवस्थामा ‘आइसब्रेक’ गरेका थिए । त्यसपछि सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आएका मोदीले चार वर्षमा तेस्रोपटक नेपाल भ्रमण गर्ने भएका छन् । यो आँफैमा कीर्तिमान हो । कुनैपनि भारतीय प्रधानमन्त्रीले नेपालको तीनपटक भ्रमण गरेको पहिलो घट्नाका रूपमा मोदीको भ्रमणले इतिहास निर्माण गर्नेछ । राजनीतिक करिअरमा मात्र नभई विदेश सम्बन्धमा समेत धेरै कीर्तिमान र अपत्यारिला भ्रमण र कदम चालेको इतिहास मोदीयुगमा बनेको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङको भारत भ्रमण हुँदा पहिलो पाइला दिल्लीमा नभई गुजरात राज्यको राजधानी अहमदाबादमा भयो । गुजरात मोदीको गृहराज्यको राजधानी हुनु र सि जिङपिङको भारत भ्रमणको शुरूवात त्यहींबाट हुनु अर्थपूर्ण बन्यो । तर, घट्नाक्रमले भारतको छिमेकसँगको सम्बन्धमा केही उतारचढाव आयो । नेपालसँग केही असमझदारी बढ्यो । चीनसँग दोक्लामको सवालमा तनाव बढ्यो । युद्धकै अवस्थामा पुगेर दुवै देश पछि हटे । सहमति बन्यो । मोदीले त्यसपछि चीनको भ्रमण गरेर सी जिङपिङसँग एक्ला–एक्लै वार्ता गरे । उनले चीनसँग साथ–साथ बढ्नेगरि कुटनीति अबलम्बन गरेका छन् । लगत्तै नेपाल भ्रमण गर्न लागेका मोदीले नेपाल मामलामा समेत ‘कोर्स–करेक्शन’ गरेर बढ्न लागेको देखिन्छ ।
छिमेकसँगको सम्बन्धलाई विशेष महत्व दिएका मोदीले नेपाललाई निकै प्राथमिकतामा राखेर व्यवहार गरिरहेको प्रमाणका रूपमा अब हुन लागेको भ्रमणलाई लिन सकिन्छ । पहिलोपटकको भ्रमणबाट मोदीले नेपाली जनताको मन जितेका थिए । नेपालको संसदमा मोदीले सम्बोधन गर्दाखेरि सबै पार्टीका नेताहरुले वाह वाह मोदी भनेका थिए । कतिपयले मोदीलाई विलक्षण प्रतिभाका धनी र राजनेता भनेर समेत चित्रण गरेका थिए । त्यसपछिका घट्नाले सम्बन्धमा केही अप्ठ्यारा परिस्थिति सृजना गरेपनि अबको भ्रमणबाट नेपाल मामलामा मोदीको नियत पानीजस्तै कञ्चन छ भन्ने प्रमाणित हुनेछ । धार्मिक र सांस्कृतिक दृष्टिले पनि नेपालको विशेष महत्व छ । मोदी आँफै धार्मिक स्वभावको भएकाले उनी नेपाललाई पवित्र स्थलका रूपमा मान्छन् । पवित्र भूमि ठानेर उनले चाल्ने पाइला आँफैमा महत्वपूर्ण हुनेछ । उनले यसपटक जनकपुरमात्रै नभई पशुपतिदेखि मुक्तिनाथको पनि भ्रमण गर्नेछन् । उनी नेपालको मधेश, पहाड र हिमालका जनतामा आफ्नो एकछत्र छाप राख्न चाहन्छन्।
मोदीमय राजनीति
लामो त्याग र तपस्याबाट उठेर भारतको प्रधानमन्त्री बनेका मोदीले चार वर्षे कार्यकालमा महत्वपूर्ण कार्यहरू गरिसकेका छन् । हरेक चुनौतीको सामना गर्न तम्तयार रहने उनी जोखिम मोल्ने नेताका रूपमा चिनिन्छन् । भारतलाई महाशक्तिशाली बनाउने महत्वाकांक्षी योजनालाई साकार बनाउन मोदी दत्तचित्त भएर लागेका छन् । त्यसैले आज भारत मोदीमय बनेको छ । विपक्षीको किल्लाका रूपमा चिनिएको राज्यहरूमा समेत भारतीय जनता पार्टीले सानदार जीत हाँसिल गरेको छ । जसमध्ये कम्युनिष्टहरूको किल्ला मानिएको त्रिपुरा राज्यमा हालै भाजपाले हाँसिल गरेको जित पर्दछ । पूर्वात्तर भारतमा भाजपा प्रभावशाली बन्नुमा मोदीको करिश्मामयी नेतृत्वले मुख्य भूमिका खेल्यो । मोदीले शून्यबाट सयको अवस्थामा आफूलाई पु¥याईरहेका छन् । उनको यात्राले गति लिइरहेको छ । भारतभित्र प्रभाव बनाइसकेका उनले दक्षिण एशियाको ‘टावर पर्सनालिटी’ हुँदै विश्वका प्रभावशाली नेताको सूचीमा पारिसकेका छन् । यसमा मोदीको समन्वयकारी कुटनीति कारण बनेको छ ।
दक्षिण एशियाका राष्ट्रहरू समृद्ध नभई भारतले महाशक्ति बन्ने महत्वाकांक्षा हाँसिल गर्न नसक्ने निष्कर्षका लागि मोदी सिंगो क्षेत्रलाई समृद्ध बनाउनुपर्ने ठहरका साथ बढेका छन् । क्षेत्रीय शान्तिमा समेत उनको जोड छ । मोदीले पाकिस्तानसँग सुमधुर सम्बन्ध बनाउन जोखिमयुक्त पाइला चालेका छन् । सन् २०१५ मा अकस्मात् पाकिस्तान पुगेर तत्कालिन पाकिस्तानी राष्ट्रपति नवाज सरिफको लाहोरस्थित घरै पुगे । मोदीले क्षेत्रीय शान्तिका लागि छाति फराकिलो पारेर व्यवहार देखाए । भारतसँग निकै चीसो सम्बन्ध रहने गरेको पाकिस्तानसँग मोदीले बढाएको हातलाई विश्वले उदाहरणका रूपमा लियो । मोदी कसैसँग वैरभाव नराखी भारतले काम गर्नुपर्ने नीतिका साथ बढेका छन् । भारतको तिक्त सम्बन्ध रहेको देशसँग समेत छाति खोलेर हातेमालो गर्न पुग्ने मोदी असल छिमेकसँग झन् सकारात्मक र सुमधुर सम्बन्ध राख्ने नै भए । उनको नेपालप्रति निकै उदार र प्रेमपूर्ण सम्बन्ध रहेको बुझ्न सकिन्छ । उनी नेपालमा भारतले अगाडि बढाएको विकासका कामहरूबारे कर्मचारी र सल्लाहकारहरूसँग चासो राखिरहन्छन् । यतिसम्मकी भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग नेपालमा भारतीय सहयोगमा बढाइएका विकासका योजनाहरूको प्रगतिबारे जानकारी लिइरहन्छन् । मोदीले विभिन्न देशमा भारतीय राजदूतावासमा भिडियो कन्फरेन्समार्फत् कार्यप्रगतिबारे सोध्दा तत्कालिन भारतीय राजदूत रणजीत रेलाई विराटनगर—जोगवनी रेलमार्गको कार्यप्रगतिबारे जानकारी मागेको स्वयं रेले भनेका थिए । त्यसबाट पनि मोदी नेपाल मामलालाई नजिकबाट नियालिरहेको बुझ्न सकिन्छ । मोदीमय नेपाल बनाउनको लागि वर्तमान राजदुत पुरीको ठूलो भूमिका छ । एक महिनाको अवधिमा दुवै देशका प्रधानमन्त्रीहरुको भ्रमण आदानप्रदान गराउन उनी सफल भए । समन्वयकारी भूमिकाले राजदुत पुरीलाई सफल कुटनीतिज्ञ र राजदुतको रुपमा चिनाएको छ ।
मोदी भ्रमणको फाइदा
छिमेकलाई उच्च प्राथमिकतामा राखेर व्यवहार गर्ने मोदीको महानता देखिइसकेको छ । उनी कसैसँग वैरभाव राखेर काम गर्दैनन् बरु समन्वय गरेर बढ्न चाहन्छन् । भारतको आन्तरिक राजनीतिमा मोदीले यस्तै व्यवहार देखाउँदै आएका छन् । कुटनीतिमा समेत मोदीको अब्बल शैली प्रर्दशित भइसकेको छ । सामान्य जीवनयापन गर्ने मोदीले भारतलाई समृद्ध बनाउन तल्लो तहका जनताको सुखदुःखलाई मनन गरेर नीतिहरू ल्याएका छन् । भारतको साथ–साथ छिमेकी पनि अघि बढोस् भन्ने चाहना मोदीमा देखिन्छ । त्यसैले ‘सबका साथ सबका विकास’ को भिजनलाई भारतले छिमेकसँगको सहभागितामूलक विकास र समृद्धिको मार्गदर्शन बनाएको मोदीले स्पष्ट पारेका छन् । विकासमा साथ–साथ बढ्न भारतले हात बढाएको छ । मोदीले साथ–साथ समृद्धिको यात्रामा बढ्न बढाएको हात नेपालका लागि सुनौलो अवसर हो ।
मोदी भ्रमणको महत्वपूर्ण क्षण जनकपुर भ्रमण हुनेछ । जनकपुर पुगेर रामजानकी मन्दिरको दर्शन गर्नेछन् । विभिन्न धार्मिक स्थानमा पुग्ने मोदीको चाहना बमोजिम दुई दिनको भ्रमण व्यस्त हुनेछ । धार्मिक स्वभावका मोदीको यो भ्रमण द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन मात्र उपयोगी हुनेछैन, नेपालमा धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत योगदान पुग्न सक्छ । दुवै देशका विज्ञहरूले रामायण सर्किट र बौद्ध सर्किटका रूपमा धार्मिक र सांस्कृतिक पर्यटनको विकासमा जोड दिइरहँदा मोदीले पवित्र धार्मिक स्थलहरूको भ्रमण गर्नुले पर्यटनको विकासमा नयाँ अध्याय शुरू हुनसक्छ । मोदी भ्रमणले पहाड र तराईबीचको भावनात्मक एकतामा टेवा पुग्न सक्छ । उनले विगतमा सबै नेपालीको अपनत्व महशुस हुने संविधान निर्माणको सुझाव दिएका थिए । काठमाडौंबाट जनकपुर पुगेर उनले सबै नेपालीबीच भावनात्मक एकताका लागि सन्देश प्रवाह गर्ने देखिन्छ । उनको काठमाडौं बाहिरका स्थानहरूको यात्राले सकारात्मक सन्देश दिने विश्वास गर्न सकिन्छ ।
मोदीको मुख्य जोड आर्थिक समृद्धिमा छ । भारतमात्र नभई छिमेक पनि समृद्धिको यात्रामा सहकार्य गर्दै साथ–साथ बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । उनको भ्रमण आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित हुनुको कारण यही हो । भारतले नेपालमा अगाडि बढाएको विकास निर्माणमा ढिलाई भइरहेको गुनासाहरू आइरहेको छ । भूकम्पपछि भारतले दिने भनेको एक खर्ब रुपैयाँ प्राप्त नभएको विषय पनि उठेको छ । हुलाकी राजमार्ग, जलविद्युत आयोजनालगायत निर्माणमा भएको ढिलाईले आशंकाहरू बढाएको छ । आलोचकहरूले विषय उठाउने ठाउँ पाएका छन् । मोदीले यो अवस्थाको अन्त्य गर्ने जमर्को गरेका छन् । उनको भ्रमणको उद्देश्य अन्र्तगत विकास निर्माणको कामलाई तिव्र गति दिनु र समस्या सुल्झाएर परिणाममुखी काममा लाग्ने वातावरण सृजना गर्नु रहेको छ । मोदीले नेपालसँग सम्झौता भएर काममा अड्चन आएको आयोजनामा समस्याको गाँठो फुकाइदिएका छन् । स्वयं सक्रियता देखाएर कुनैपनि काममा ढिलाई नगर्न मोदीको निर्देशनपछि भारतीय पक्षले नेपालमा अगाडि बढाएको विकास निर्माणको कामले गति लिने वातावरण सृजना भएको छ ।
मोदीको नेपालप्रतिको रचनात्मक चासोले नेपालको आर्थिक विकासमा नयाँ अध्याय शुरू हुनसक्छ । नेपालले अगाडि बढाएको समृद्ध नेपालको योजनामा मोदीको साथ र सहयोगले क्षितिजमा सुखद् सम्भावनाहरू देखिएका छन् । आर्थिक समृद्धिमा जोड दिँदै भारतलाई नयाँ युगतर्फ डोहो¥याइरहेका मोदीले नेपाल भ्रमणबाट यहाँको समृद्धिमा टेवा पु¥याउँदैछन् । मोदीको चार वर्षको कार्यकाल पूरा हुनै लाग्दा हुनलागेको तेस्रो नेपाल भ्रमण आँफैमा सकारात्मक सन्देश हो । यसबाट भारतले नेपालको समृद्धिमा दिलदेखि साथ दिने देखिएको छ । मोदीको साथले नेपालले चालेको समृद्धिको पाइलामा नयाँ ऊर्जा मिल्ने विश्वास गर्न सकिन्छ । मोदीले जसरी ‘कोर्स करेक्शन’ गरेर नेपालसँगको सम्बन्धमा दिल खोलेर आफूलाई प्रस्तुत गरेका छन् त्यसप्रति नेपालले पनि उच्च सम्मानको भाव देखाउनुपर्छ । नेपालले मोदीको सद्भाव र सहयोगलाई सुनौलो अवसरका रूपमा लिएर विकासलाई गति दिन जरुरी छ । मोदीले नेपाल मामलामा देखाएको फराकिलो छातिको सम्मान गर्नुपर्छ । सकारात्मक सोच र व्यवहारबाट नेपालले समृद्धिको उद्देश्य हासिल गर्न सक्छ ।