वैशाख २०, काठमाण्डौ । निर्वाचनको परिणामलाई लिएर आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा पनि गुटगत विवाद झनै चुलिँदै गएको छ ।
पछिल्लो समयमा आएर असन्तुष्ट पक्षले माउ पार्टीका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएर आगामी महाधिवेशनको तयारीका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए ।
महामन्त्री कुन्दनराज काफ्लेले दिउँसो जुलुससहित पार्टी कार्यालय पुगेर सभापतिलाई ज्ञापन पत्र बुझाएका छन् । केही दिन अघि कांग्रेसको केन्द्रीय कार्यसमितिको समीक्षा बैठक चल्दै गर्दा पार्टी कार्यालय पुगेको काफ्ले समूहले नेविसंघको संस्थापन पक्षीय नेतृत्वविरुद्ध चर्को नाराबाजीसमेत गरेको थियो ।
उनीहरुले सभापति देउवालाई २४ घण्टे अल्टिमेटम दिँदै नेविसंघका अध्यक्ष नैनसिँह महरले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण असंवैधानिक निर्णयहरु तत्काल खारेज गर्नुपर्ने पनि माग गरेका थिए । तर समस्या वा विवाद अझै मिलेको छैन ।
यसै सम्बन्धमा कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले विगतका अध्यक्ष र महामन्त्रीहरुले संगठनलाई धुजाधुजा बनाएको आरोप लगाउँदै त्यस्तै तत्वहरुले अहिले आफ्नो विरोध गरेको जिकिर गरे ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष महरले पोखराको राष्ट्रियसभा गृह ध्वस्त बनाउने, चितवनको महाधिवेशनमा हातहतियार लगेर अराजकता देखाउने त्यसबेलाका नेताहरु अहिले पार्टीको नेता बनेर नेवि संघमा गुट खडा गरेको आरोप लगाए ।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री गगन थापाप्रति लक्षित गर्दै महरले भने, “नेवि संघका नेताहरु पार्टीमा पुगेका छन्, आफूलाई ठूला पपुलर नेता ठान्दैछन्, उनीहरुकै कारण नेपाल विद्यार्थी संगठन बिग्रिन लागेको छ ।”
महामन्त्री काफ्लेको कदमप्रति आक्रोषित देखिएका महरले आरोप लगाउँदै भने, “महामन्त्रीका आवाजहरु पनि राष्ट्रियसभा गृह ध्वस्त बनाउने, चितवनको महाधिवेशनमा हातहतियार लगेर अराजकता देखाउने हातहरु नै हुन् । त्यस्ता महामन्त्री त मसँग चारवटा छन् । तीनवटा छन्, एउटा मधेशी जनअधिकार फोरमबाट आउँदैछन् ।”
विगतमा पनि महाधिवेशनलाई विथोल्न आमरण अनशन जस्ता चोरबाटो हिँड्नेहरु अहिले संगठन र पार्टीलाई ध्वस्त बनाउन लागिपरेको महरले आरोप लगाए । अहिले नेवि संघ च्यातिएको टालो जस्तै भएको भन्दै उनले टाल्ने प्रयास गरिरहेको बताए ।
“म निर्वाचित सभापति भएका कारणले संगठनलाई मिलाउनु पर्ने दायित्व मेरो छ । ऋषि जिलाई थाहा छ, म मिलाउने मान्छे हुँ ।” महरले भने ।
महामन्त्री काफ्लेले लगाएको आरोपको विषयमा धमलाले प्रश्न गरेपछि महरले आफ्नो हैसियत र संयमता नै गुमाएर भने, “त्यस्ता काफ्ले त धेरै छन् नेवि संघमा, के त्यसको नाउँ लिनुहुन्छ ? त्यस्ता काफ्ले र त्रिपाठीहरु मेरो संगठनमा एक सय एकाउन्न छन् । फेरी थपिदैछन् ।”
महरेल कुन्दनराज काफ्लेलाई नियन्त्रणमा लिएर अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् । “संगठनले काफ्लेलाई नियन्त्रणमा लिन्छ, तपाई हेर्दै जानुस् । प्रक्रियागत ढंगले कारबाही गर्छ ।”