Logo

बरिष्ठ जापानी चिकित्सकहरुद्धारा नेपाल मेडिसिटी अस्पतालको अवलोकन (फोटोफिचर)



काठमाडौं, २१ वैशाख । जापानबाट नेपाल आएका बरिष्ठ चिकित्सक डा. कोशो योशिकाओको नेतृत्वमा आएका जापानी चिकित्सकहरु र भोकेश्नल ट्रेनिङ टिमले आज नेपाल मेडिसिटी अस्पतालको निरिक्षण गरेका छन् ।

रोटरी ईन्टरनेश्नल अन्र्तगर्त ईन्फेक्शन कन्ट्रोल कार्यक्रम लिएर नेपाल आएको जापानी टोलीले आज अस्पतालको अवलोकन गरेको हो । ललितपुरको भैंसेपाटीमा स्थापना भएको नेपालकै सुविधासम्पन्न मेडिसिटी अस्पतालको जापानी टोलीहरुले शुक्रबार अपरान्ह अबलोकन गरेका हुन् ।

जापानमा सञ्चालनमा रहेको सामिका ट्रेडिङका अध्यक्ष, रोटरी क्लब अफ चुबु नागोया मिराज, जापानका कार्यकारी सदस्य एवम् एनआरएन प्यासिफिकका उप-संयोजक पारशमणि पोखरेलको समन्वयमा जापानी चिकित्सक टोलीले आज अस्पतालको अवलोकन गरेको हो ।

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले उक्त टोलीलाई स्वागत गरेका थिए । अस्पताल अवलोकनपछि आयोजित संक्षिप्त अन्तरक्रियात्मक कार्यक्रमा सम्बोधन गर्दै डा. महतोले उपचारको लागि अब नेपालीहरुले विदेश जानु नपर्ने भरोसा दिलाउन मेडीसिटिको स्थापना भएको विशवास दिलाएका थिए ।

३५० शैयाको सुपर स्पेसियालिटि अस्पतालमा अत्याधुनिक उपकरण, प्रविधिसँगै सबै विधाको विशेषज्ञता सेवा रहेको जनाउँदै महतोले भने,“मेडिसिटी अस्पताल होइन अभियान हो, अत्यन्त ठूलो भवन अत्याधुनिक उपकरण सेवा सुविधा भएपनि सेवा शुल्क सर्वसाधारणले थेग्ने खालको छ।’

गैर-आवाशीय नेपाली संघका संस्थापक अध्यक्ष एवम् बरिष्ठ समाजसेवी डा. महतोद्वारा स्थापित् अस्पताल मुलुककै सुविधासम्पन्न अस्पताल हो । कुल ७ सय ५० शैयाको अस्पताल भएपनि हाल ३ सय ५० शैया मात्र संचालनमा आएको छ।

सो अवसरमा जापानी चिकित्सक टोलीका प्रमुख डा. योशिकाओले नेपालभित्रै सुविधा सम्पन्न अस्पताल बन्नुले नेपालीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने जनाएका थिए ।

उक्त चिकित्सक टोलीका एक सदस्यले अस्पताल देखेर आफूहरु आश्चर्यचकित भएको प्रतिक्रिया दिएका थिए । उनले आफूहरुले यस्तो खालको अस्पताल जापानमा पनि मुश्किलले देख्न पाउने बताएको टोलीका कोअर्डिनेटर पोखरेलले जानकारी दिए ।

अस्पतालको तर्फबाट उपाध्यक्ष अनिल ओडुभिलले सेवा तथा अस्पतालका कार्यक्रमहरुबारे संक्षिप्त रुपमा प्रकाश पारेका थिए ।

अस्पतालमा विशेषतः न्यूरो साइन्सेज, कार्डियाक साइन्सेज, ग्यास्ट्रो साइन्सेज, रिनल साइन्सेज, अर्थो एण्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजीलाई सेन्टर अफ एक्सलेन्सको रुपमा अघि बढाएको छ । नेपाल मेडिसिटीले कलेजो, मिर्गौला, बोनम्यारो प्रत्यारोपण लगायत भविष्यमा मुटु प्रत्यारोपणसम्मको उद्देश्य राखेको महतोले जानकारी गराएका थिए।

अस्पतालमा एउटा हाइब्रिड अप्रेशन थियटरका साथै १६ वटा मोडुलर अप्रेशन थियटर रहेको छ। त्यस्तै ३ टेस्ला एमआरआई, २५६ स्लाइसको सिटिस्क्यानका साथै ५२ वटा ओपिडी कक्ष राखिएको अस्पतालले जनाएको छ।

अस्पतालले अभिभावकप्रतिको जिम्मेवारी भन्दै अभिभावकको नियमित स्वास्थ्यजाँच घरमै गएर वा अस्पतालमा दिनेगरी विभिन्न प्याकेजपनि सुरु गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

तस्विरहरु : सञ्जय त्रिपाठी, नेपाल मेडिसिटी हस्पिटल



प्रतिक्रिया दिनुहोस्