वैशाख २३, काठमाण्डौ । काठमाडौं महानगरपालिकाभित्रका फुटपाथमा हुँदै आएको व्यापारमा प्रतिबन्ध लाग्ने भएको छ ।
साँझको समयमा फुटपाथ अतिक्रमण गरेर ब्यापार व्यवसाय सञ्चालन गर्न नदिने निर्णय महानगरपालिकाले गरेको हो । दिउँसोको समयमा केही कडाइ गरे पनि महानगरपालिकाले साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोक लगाएको थिएन ।
तर शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था आएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको हो । फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु गरिएको महानगरले जनाएको छ ।
बेलुकी ६ देखि राति १० बजेसम्म फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्ने तयारी महानगरपालिकाले गरेको छ । अहिलेसम्म फुटपाथमा ब्यापार गर्नेको समान जफत गरेपछि परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएको छ ।
अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइने छ । महानगरपालिकाले खुद्रा बजारका लागि तत्काल कुनै विकल्प पनि दिन नसकिने बताएको छ ।
अहिले काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा फुटपाथ ब्यापार मौलाएको छ ।