वैशाख २३, काठमाण्डौ । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् ।
आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका हुन्।
व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन इन्कार गरे पनि प्रहरीले देशभरीका अन्य यातायात व्यवसायीलाई जस्तै उनीहरुलाई पनि लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेपछि मात्र रिहा गरेको हो ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार देशभरीको यातायात बन्द आहृवान गरेको थियो । यातायातमा हड्ताल गरेको आरोपमा महासंघका महासचिव सरोज सिटौला त्यसै दिन पक्राउ परेका थिए भने अध्यक्ष योगेन्द्र कर्माचार्य, उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का भने शनिबार पक्राउ परेका थिए ।
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले फेसबुकमार्फत विना शर्त रिहा भएको जनाएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा पक्राउ परेका व्यवसायीलाई साधारण रूपमा नछोड्न निर्देशन दिएका थिए ।
गृहमन्त्री थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सिन्डिकेट गर्दिन, सवारी कम्पनीमा दर्ता गर्छु, सवारी साधन चलाउँछु, सरकारलाई सहयोग गर्छु भन्ने कागज गराएर मात्र छोड्न निर्देशन दिएका थिए ।