वैशाख २४, काठमाण्डौ । सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नब्यहोर्ने बताएका छन् । उनीहरुले बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न नसक्ने बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले व्यवसायी र समितिको बैंक खाता रोक्का भएकाले दुर्घटनाका घाइतेको उपचार गराउन नसक्ने बताएका हुन् ।
आफूहरुको काउन्टर बसपार्कबाट हटाइएकाले सडकबाटै सेवा सुचारु गर्नु पर्ने अवस्था आएको भन्दै उनले यसबाट उत्पन्न हुने असहजताका लागि सरकार जिम्मेवार हुने बताए ।
व्यवसायीले सरकारले साउनबाट संघ तथा समिति नवीकरण नगर्ने निर्णय गरेकाले यातायात क्षेत्रको सम्पूर्ण जिम्मेवारी पनि सरकारले लिनुपर्ने बताए ।
यातायातमन्त्री रघुबीर महासेठले यातायात क्षेत्र सुधारका लागि बनेको कार्यदलले तत्कालै काम सुरु गरेर दुर्घटना बीमा लगायतका विषयलाई टुंग्याउने बताए ।
उनले यातायात क्षत्रेमा व्यवसायीले उठाएका भाडा, रुट इजाजत, बसपार्क व्यवस्थापन, ई(टिकेटिङ लगायतका विषयमा एक महिनाभित्र प्रतिवेदन लिएर सरकारले उचित निर्णयहरु लिने बताए ।
यसैबिच सरकारले सिन्डिकेटको समर्थन गर्दै सवारी बन्द गर्ने यातायात समितिहरुको रोक्का बैंक खाता फुकुवा गर्ने सहमति गरेको व्यवसायीले दाबी गरेका छन् । अघिल्लो दिनको वार्तामा बैँक खाता फुकुवा गर्ने सहमति भए पनि आजको पत्रकार सम्मेलनमा सरकार पक्षले उक्त कुरा नखुलाएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।
अध्यक्ष कर्मचार्यका अनुसार यातायात समितिहरुको रोक्का गरिएको बैंक खाता फुकुवा गर्न मन्त्रीले सहयोग गर्ने सहमति भएको छ ।