Logo

बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरुबीच आ-आफ्नो उमेरबारे चर्चा, ओलीले देउवालाई योङ हुनुको राज सोधेपछि !



काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने भनेर डाकिएको बैठकमा नेताहरुको उमेरबारे चर्चा भएको छ । नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागिरहेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार परामर्श गर्न लागेको हो ।

छलफलमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई के हो अहिलेसम्म पनि योङ देखिनुभएको छ नि ? भनेर सोधेका थिए । तर ओलीको प्रश्नमा देउवा अनुत्तरित बने । उनले खासै वास्ता गरेन ।

ओलीले बडो रोमान्टिक हुँदै यसरी देउवालाई यतिका उमेरमा पनि अझै ईभरग्रिन योङ देखिनुको राज सोधेपछि देउवाको सट्टा प्रचण्डले जवाफ दिएका थिए ।

प्रचण्डले देउवा हेल्थप्रति निकै कन्सियस रहेको बताउँदै अझै झन योङ देखिनसक्ने बताए । प्रचण्डले त्यति बोलेपछि अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकेन्द्रबहादुर चन्दलाई देखाउँदै यतिका उमेरमा पनि तपाई पो सबैभन्दा धेरै योङ देखिनुभएको छ त ? भनेर खुलेरै प्रशंसा गरे ।

पूर्वप्रधानमन्त्री चन्दलेपनि बाबुरामलाई ०५९ साल चैत्र १९ गते रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा नयाँ बानेश्वरमा बाबुरामसँग हात मिलाएको प्रसँग कोट्याएका थिए । हलमा एकछिन हाँसो छाएको थियो । बाबुरामलेपनि त्यतिवेला ऋषि धमलाले आफूहरुवीच भेट गराएर तरँग पैदा गरिदिएको स्मरण गराए ।

स्रोतका अनुसार नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालपनि बडो रोमान्टिक रुपमा प्रस्तुत भएका थिए । देउवाले प्रतिक्रिया नदिँदा उनको बारेमा प्रचण्डले बोल्नुभयो, यो खुशीको कुरा हो भन्दै उनले एकछिन हलमा हँसाएका थिए ।

सरकारले आर्थिक वर्ष २०७५र७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्