डा. दीपेश केसी : नरेन्द्र दामोदरदास मोदीले भारतको प्रधानमन्त्रीका रूपमा तेस्रोपटक नेपाल भ्रमण गरिरहँदा धेरै विवादहरू खडा गरिएका छन् । नाकाबन्दीसँग जोडेर मोदीको भ्रमणलाई विवादास्पद बनाउन खोज्नेहरू पनि देखिएका छन् । मोदीको नेपाल भ्रमण नजिकिदै गर्दा २०७२ सालमा नेपाल भारत सीमामा अवरोध उत्पन्न हुनेगरी भएको १३४ दिन लामो नाकाबन्दीको सम्पूर्ण दोष भारतलाई लगाएर लोकप्रीय बन्ने प्रतिष्पर्धा गनेचुनेका विद्धान, राजनीतिक दलका नेता देखि सामाजिक सञ्जालमा सक्रिय कतिपय सर्वसाधारणमाझ चलेको छ । तर, भारतले नाकाबन्दीबारे औपचारिक रुपमा आजसम्म बोलेको छैन । बरु नाकाबन्दी आफूहरूले गराएको भन्दै उपेन्द्र यादव देखि राजेन्द्र महतो सम्मले गर्व गरे । नाकाबन्दीमा प्रमुख भूमिका खेलेको दाबी गर्ने मधेश केन्द्रित दलका सबै नेताहरू चुनाव जितेर आएका छन् । तिनीहरूसँग अघोषित साँठगाँठ गरेर चुनावमा तराई मधेश क्षेत्रबाट सानदार मत ल्याउनेमा एमाले र माओवादी समेत रहेको तथ्य घटनाक्रमले प्रमाणित गरिसकेको छ । नाकाबन्दी कस्ले ग¥यो यकिनका साथ भन्न नसकेकाहरू लगभग भित्तामा टाँसिएका छन् ।
ओली—मधेश केन्द्रित दल मिलन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २८ वैशाखमा जनकपुरमा उत्रँदा केपी शर्मा ओली समेत उतै हुनेछन् । मधेश केन्द्रित दलका नेताहरूको उपस्थिति पनि मोदीको जनकपुर भ्रमणको दौरान हुने नै भयो । मधेशी जनअधिकार फोरमका तर्फबाट मुख्यमन्त्री बनेका लालबाबुर राउत सँगै हुनेछन् । यो एउटा संयोगमात्र नहोला कि तराई मधेशको केन्द्र मानिएको जनकपुरमा ओलीको सानदार उपस्थिति मोदीको जनकपुर भ्रमणको समयमा हुँदैछ । नाकाबन्दीमा मुख्य भूमिका खेल्ने र सबैभन्दा खरो विरोध गर्ने दुवै शक्ति मोदीको जनकपुरमा स्वागत गर्न आतुर हुनुले धेरै सन्देश दिएको छ । मोदीले दुवैलाई एक ठाउँमा ल्याउने चार्तुयता समेत देखाउँदै छन् ।
साँठगाँठको भित्री पाटो
ओली र मधेश केन्द्रित दलबीचको साँठगाँठ चुनाव अगावै भइसकेको थियो जुन घटनाक्रमले पुष्टि गर्दैछ । बाहिर जतिसुकै चर्काचर्की गरेपनि चुनाव लाभका लागि फरक ध्रुवका जस्ता देखिने ओली र मधेश केन्द्रित दल चुनावका दौरान मिलिसकेका थिए । चुनावी नतिजा अनुसार एमाले र मधेश केन्द्रित दलहरूबीच तराई मधेशमा कमैमात्र प्रतिष्पर्धा भएको छ । बरु दुवै दलको साँठगाँठले काँग्रेसले नराम्रोसँग पराजय भोगेको छ ।
उग्र रुपमा मधेशको मामलामा विरोध र समर्थनको विषय उठाएर दुवैले रणनीतिक लाभ लिएका थिए । यसमा दुवैको मिलेमतो उजागर हुँदै गएको छ । इतिहासकार र राजनीतिशास्त्रका अध्ययनकर्ताहरूले यसबारे गहिरो अध्ययन गरेर तथ्य बाहिर ल्याउलान् ।
नाकाबन्दी गराउने को ?
राष्ट्रवादको नाममा ओलीले लोकप्रीयता मात्र बटुलेनन् चुनावमा रणनीतिक सफलता हासिल गरे । देखेको सत्य देख्ने सर्वसाधारणलाई ओलीको चार्तुयता र मधेश केन्द्रित दलको चार्तुयताले भ्रममा पा¥यो । काठमाडौंमा बसेर ओलीले मधेशीलाई गाली गरिरहे । मधेश केन्द्रित दलहरू पनि ओलीलाई गाली गरिरहे । यो जुहारीले दुवैलाई लाभ पुग्यो ।
नाकाबन्दी गराउने मधेश केन्द्रित दल र त्यसको पाइला पाइलामा विरोध गर्ने क्रममा दक्षिणतर्फ समेत औंला ठड्याउने ओलीको जुहारीका क्रममा सर्वसाधारणले निकै कष्ट भोगेका थिए । कष्ट भोगेका जनताको ध्यान सिधा भारततर्फ मात्र गयो । किनकि, नाका नेपाल—भारतबीच थियो । नाकामा बन्दका लागि कमाण्डर बनेका थिए, मधेश केन्द्रित दलका नेता । पहाडको रोजीरोटी बन्द गर्छु भन्दै राजेन्द्र महतो कुर्लिरहेका थिए । तर, तिनै महतो जनकपुरमा भारी मत ल्याएर विजयी भए । उनलाई हराउन कथित राष्ट्रवादीहरू समेत लागिपरेनन् । बरु भित्री साँठगाँठ गरेर जिताउन सक्रिय भए । नाकाबन्दीबाट मधेशी जनताले सबैभन्दा धेरै दुःख भोगेका थिए । तर, तिनै जनतामा भ्रम छरेर चुनाव जित्न सफल भए महतोहरू । पहाड र चुरे क्षेत्रमा नाकाबन्दीमा चर्को स्वरले बोलेको जस लिदै फाइदा लिन उद्धत भए ओली नेतृत्वको एमाले पक्षधरहरू । हेर्दा प्रतिद्वन्द्वी जस्तो देखिएपनि दुवैले चुनावका लागि ट्युन मिलाएका थिए ।
दोषी को
नेपालको इतिहासमा भएका युद्धमा भन्दा पनि जनताले दुःख पाएको १३४ दिनको नाकाबन्दीको असर अझै जनताको चुल्होमा परिरहेको छ । यसको वास्तविक दोषी को को थिए खोजी हुनुपर्छ । राजनीतिक नेतृत्वले जहिले पनि विदेशीलाई दोषी देखाएर उम्कने क्रियाकलाप गर्दै आएको छ । विशेषगरी जनताको आँखा र कानमा पर्ने गरी भारतलाई दोष दिने र भारत पुगेर त्यही मुलुकको नेतासँग भेटी आफ्नो राजनीतिक स्वार्थमा केन्द्रित रहेर कुरा गर्ने प्रवृत्ति गएको छैन । चील देखाएर कुखुरा चोर्ने छट्टु स्यालको जस्तो प्रवृत्ति अधिकांश राजनीतिक नेतृत्वमा छ । नेपाली जनतामा त्यस्ता स्यालहरू चिन्ने चेतनाको विकास हुनु जरुरी छ ।
कुनैपनि देशका जनताले दुःख पाउनमा सबैभन्दा ठूलो दोष त्यही देशको राजनीतिक नेतृत्वले लिनुपर्छ । बाह्य हस्तक्षेप बढ्नु या बाह्य खतरा बढ्नुमा समेत आन्तरिक कमजोरी कारण हुन्छ । नेपालमा नाकाबन्दी हुनुमा सबैभन्दा ठूलो दोषी कोही थियो भने नेपालको राजनीतिक नेतृत्व नै थियो । तर, गल्ति लुकाउने र माफी माग्दा पदच्युत हुनुपर्छ जस्तो ठान्ने नेताहरूले यसलाई कदापि स्वीकार्ने छैनन् । तराईका जङ्गल वरपरका बासिन्दालाई जङ्गली जनावरले दुःख दियो भने भारतलाई दोष दिने नेताहरूको कमी छैन । मान्छेलाई आवत्जावत् गर्न भीसा र पासमोर्ट नचाहिने सहज आवत्जावत् हुने सीमामा नेताहरू जङ्गली जनावरलाई समेत भीसा र पासपोर्ट सजिलै दिलाइदिन्छन् ! यही भ्रम छर्न खप्पिस राजनीतिक नेताहरूबाट पटक पटक नेपाली जनता ठगिएका छन् । नाकाबन्दीको योजना र त्यसको रणनीतिक लाभ लिनेहरूले त्यस्तै गरे । दुःखपीडा जनताले भोगे र नाकाबन्दी गराउने र विरोधी देखिनेहरू फल खाइरहेका छन् ।
कहिले पनि आफ्ना नेताहरूको गल्ति र कुटनीतिक असफलतातर्फ औंला ठड्याउने काम भएन । यसलाई नेपाली जनताको सोझोपन भन्नुपर्छ । जनताको यस्तै सोझोपनमाथि खेलेर चतुर नेताहरूले राजनीतिक अभिष्ट पूरा गरिरहेका छन् । नेपालीहरू आफ्नैद्वारा ठगिने र दुःख पाउने क्रमले निरन्तरता पाइरहेको छ ।
अबको बाटो
भ्रमका पर्दाहरू धेरै च्यातिइसके । अब भारत या कुनैपनि छिमेकीको अन्ध समर्थन या अन्ध विरोध गरेर लाभ लिने र राष्ट्रवादी कहलिने जमाना अन्त हुँदैछ । तीनतर्फ सीमा जोडिएको भारतसँग व्यवहारिक र मित्रवत् सम्बन्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएकोमा ओली देखि देउवासम्म जानकार छन् । तैपनि एकले अर्कालाई खुइल्याउन ‛भारतपरस्त’ र ‛लम्पसारवाद’ को थेगो पुनः प्रयोगमा ल्याइएको छ । यो प्रवृत्ति काम नगर्ने र छिमेकसँग जोडेर दोषी देखाउने रणनीति सिवाय केही होइन । अधिकांश नेपाली जनताको भान्छामा भारतीय उत्पादन पाक्न थालेपछि परनिर्भरताको पराकाष्ठ भइसकेको यथार्थ बुझ्न सकिन्छ । आत्मनिर्भरता बढाएर छिमेकका जनताको भान्छामा आफ्नो उत्पादन पुग्ने अवस्था पु¥याउने मार्ग तयार गर्न सक्नुपर्छ । नाकाबन्दीको नाममा विरोध र समर्थन गरेर जसरी लाभ लिने गतिविधि भयो त्यसले कालान्तरमा देशको आत्मामाथि नै प्रहार हुनसक्छ । नेपाली जनतामा आफ्ना नेताहरूप्रति घृणाभाव जाग्न सक्छ ।
राजनीतिमा रणनीतिका नाममा आफैमाथि चोट पु¥याएर फाइदा लिने षड्यन्त्रकारीको कमी छैन । यहाँ एकजना जोगीले आफैमाथि गोली हान्न लगाएर व्यक्तिगत लाभ लिन खोजेको विषय बाहिर आएको छ । यहाँ भोगीहरूले देश र जनतामाथि नाकाबन्दीको बोझ बोकाएर विरोध गरे जसरी लाभ लिएका छन् । विद्वान भीमार्जुन आचार्यले भनेजस्तै नाकाबन्दी मोदी र ओलीको मिलेमतोमा समेत लागेको हुन सक्छ । ओली र मधेश केन्द्रित दलको मिलेमतोमा समेत लागेको हुन सक्छ । खोजीको विषय धेरै छन् । नाकाबन्दी कस्ले लगायो ? किन लगायो ? तथ्य बाहिर आउन जरुरी छ । नेपाली जनताले आफ्ना नेताहरूलाई यसबारे प्रश्न गर्नुपर्छ । नाकाबन्दी किन लाग्यो ? कतै केही सम्झौता गरेका थियौ र उल्लंघन त गरेनौं जसको मूल्य नेपाली जनताले चुकाउनुप¥यो ।