काठमाडौं, २५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो ट्वीटरमा पोष्ट गरेको सामाग्रीबारे आज जिज्ञासा राखेका छन् ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा सांसदहरु ओलीको ट्विटबारे आपत्ति जनाउँदै दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डसामू कडा रुपमा प्रस्तुत भएका थिए । लगत्तै प्रचण्डले ओलीलाई यसबारेमा सोधेका थिए ।
स्रोतका अनुसार ओलीले हिजो पोष्ट गरेको टिवट् प्रचण्ड वा नेकपा माओवादी केन्द्रसँग सम्बन्धित नरहेको स्पष्ट पारेका थिए । ओलीले हिजो आफ्नो आधिकारिक टिव्टरमा भनेका थिए,‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं। दुनो सोझ्याउन समिकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ। किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामाथि थियो र छ।’
ओलीले दुनो सोझ्याउन समिकरण फेरबदलमा मात्रै बानी परेकाहरु भन्दै प्रचण्डलाई नै भनेको ठम्याउँदै माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाएका थिए । प्रचण्डले पनि यही आशयमा ट्विटरमा किन लेखियो भन्दै आलीसमक्ष कडा प्रश्न राखेका थिए । जवाफमा ओलीले आफूले प्रचण्डलाई केन्द्रित गरेर टिव्टमा नलेखेको दाबीमात्रै गरेनन्, बरु उल्टै अहिले आफूहरुको एकता भत्काउन केही शक्तिहरु लागिपरिरहेकोले त्यस्तो लेखेको बताएका थिए ।