Logo

‘विगतका घाउका टाटाहरुलाई भारतले मलमपट्टी लगाएको छ’



वैशाख २६, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी पूरा गरेको बताएका छन् ।

मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् । २८ गते मोदी भारतबाट सिधै जनकपुर जाने कार्यक्रम छ ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले मोदीलाई जनकपुरमा स्वागत गरेपछि जानकी मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको बताए ।

मन्त्री पण्डितले सदियौँ देखिको नेपाल–भारत सम्बन्धलाई राम्रो बनाउनका लागि बाधा अवरोध पन्छाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । यता नागरिक समाजले भने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको बेला मोदीसँग भएको वान टु वान वार्तामा भएका कुरा सार्वजनिक गर्नुपर्छ भन्ने आवाज उठाएका छन् ।

पण्डितले भने मोदी–ओलीबीच राष्ट्रहितबाहेक अरु कुरा नभएको दाबी गरे ।“दुई प्रधानमन्त्रीबीचको कुराकानी सार्वजनिक भइसकेको छ ।” ओलीले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली भारतसामु लम्पसार परेको आरोप लगाएकोप्रति पण्डितले पिडाको अभिव्यक्ति व्यक्त भएको बताए ।

“कहीँ कतै पिडाहरु अभिव्यक्त भएका छन् भने त्यस्ता पिडाहरु बोकिराख्नपर्ने आवश्यक छैन । हामी पनि सधैँ एउटै कुरालाई पिडाको रुपमा बोकिरहने स्थितीमा छैनौ । राष्ट्रहित विरोधी काम हुन दिदैनौँ ।” उनले भने ।

नेपाल–भारतबीचको सम्बन्ध विगतमाभन्दा अहिले सुदृढ भएको पण्डितको दाबी छ । “विगतका घाउका टाटाहरुलाई मलम पट्टी लगाउने काम भइरहेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्