Logo

बार्सिलोनाको अपराजित यात्रा कायमै, इतिहासमा नाम लेखाउने ध्यानमा



काठमाडौं, २७ बैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि उचालिसकेको बार्सिलोना पूरै सिजन अपराजित रहँदै ला लिगा इतिहासमा नाम लेखाउने ध्यानमा छ ।

बार्सिलोनाले लिग अन्तर्गत बुधबार राति भएको खेलमा भिल्लारियलमाथि ५–१ को जित निकाल्यो । अब दुई खेलमा अपराजित रहेमा बार्सिलोना पूरै सिजन अपराजित रहने कीर्तिमान बनाउन सफल हुनेछ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन फिलिप कोन्टिन्हो, पाउलिन्हो र लियोनल मेस्सीले एक एक गोल गरे । यस्तै उसमा डेम्बेलेले भने दुई गोल गरे । भिल्लारियलका लागि निकोला सानसोनीले एक गोल फर्काए ।

कोन्टिन्होले ११ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । १६ औँ मिनेटमा पाउलिन्हो तथा ४५ औँ मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता लियो ।

५४ औँ मिनेटमा सानसोनीले भिल्लारियलका लागि एक गोल फर्काए । बार्सिलोनाका लागि डेम्बेलेले ८७ औँ मिनेटमा गोल गरे । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५–१ ले विजयी भयो ।

बार्सिलोनाले अब लेभान्टे र रियल सोसिडाडसँगको खेलमा हारबाट जोगिन सकेनमा ला लिगाको आधुनिक एरामा पूरै सिजन अपराजित रहने कीर्तिमान बनाउने छ ।

यसअघि सन् १९३१–३२ को सिजनमा रियल मड्रिड पूरै सिजन अपराजित रहेको थियो, तर त्यसबेला लिगमा १८ खेल हुन्थे । जितपछि बार्सिलोनाको ९० अंक भएको छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्