Logo

मोदी भोलि आउँदै, जनकपुर दुलहीझैं सिँगारियो



जनकपुर, २७ बैशाख । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोलि दुई दिने भ्रमणको लागि नेपाल आउँदैछन् । उनले जनकपुरबाट भ्रमणको सुरुवात गर्दैछन् । मोदीको नेपाल भ्रमण यो तेस्रो पटक हो । यसअघि दुई वटा भ्रमणमापनि उनले जनकपुरको जानकी मन्दिरको दर्शन गर्ने चाहना व्यक्त गरेका थिए । तर, उनको चाहना अपुरो बनेको थियो । यसपटक भने उनले नेपाल भ्रमण जनकपुरबाटै सुरुवात गर्दैछन् ।

जनकपुर यतिवेला मोदीलाई स्वागत गर्न आँतुर छ । मोदीको स्वागतका तुलहरु र प्रचारपनि आक्रमक रुपमा अनवरत चलिरहेको छ । सर्वसाधरणले पनि आफ्नो घर अगाडिको सफाई र स्वागतको घडा राख्ने काम गरिरहेका छन् । मोदी आउने बाटाहरु सफाइका लागि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी समेत लागेका छन् । एयरपोर्टदेखि रामानन्द चोकहुँदै १२ बिगाह मैदान र जानकी मन्दिर हुँदै मोदीको भ्रमण हुने रुट अहिले दुलहीझैं रंगिएका छन् ।

मोदीलाई भव्य स्वागत गर्ने प्रदेश नम्बर २ तयारी छ । अहिले पुरै प्रदेश सरकार र जनकपुर उपमहानगरपालिका सफाइ तथा साजसजावटमा लागेका छन् । त्यस्तै मोदी आएका बेला जनकपुरमा माक्स लगाएर हिँड्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र माक्स लगाएर हिँड्न निषेध गरेको हो ।

त्यस्तै मोदीलाई नागरिक अभिनन्दन गरिने रंगभूमी मैदानमा पनि हेलमेट र माक्स लगाएर नजान आग्रह गरिएको छ । उनले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा रंगभुमी मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।

मोदी भ्रमणको सुरक्षालाई मध्यनजर गरी बिहीबार दिउँसो १२ बजेदेखि नै जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । मोदी आउने दिन पारेर प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदा समेत दिएको छ । मोदीलाई नेपाल सरकारका बरिष्ठ मन्त्री रक्षामन्त्री ईश्वर पोखरेलले एयरपोर्टमा स्वागत गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्