Logo

ओली–मोदीलाई जनकपुरमा भव्य स्वागत गर्छौं : अर्थमन्त्री यादव



जनकपुर, २७ बैशाख । प्रदेश नम्बर २ का अर्थमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका नेता विजय यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि हुने जनकपुर भ्रमण धार्मिक तथा सांस्कृतिक हुने भएकोले आफूहरुले भ्रमण सफल बनाउन कुनै कसरी बाँकी नराख्ने स्पष्ट पारेका छन् ।

मोदीको भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपाल धनुषा शाखाले बिहीबार साँझ जनकपुरमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले भने,‘उहाँको जनकपुर भ्रमणको धार्मिक र सांस्कृतिक रुपमा एकदमै धेरै ठूलो महत्व छ, उहाँ भोलि विहारबाट सिधा जनकपुर आउँदैहुनुहुन्छ, उहाँको भ्रमण भनेको नितान्त धार्मिक र सांस्कृतिक नै हो।’

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले मोदी आँफैमा विश्वकै प्रभावशाली नेता भएकोले उनी आएपछि त्यसको अर्थ धार्मिक तथा साँस्कृतिकमात्रै नभएर राजनीतिक रुपमा पनि महत्व हुने विश्वास दिलाए ।

मोदी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेको बताउँदै यादवले थपे,‘ओलीको निमन्त्रणामा मोदीको भ्रमण तय भएको हो, उहाँको जनकपुर भ्रमणलाई लिएर किन विरोध गर्नु, जनकपुर भनेको नेपालकै पार्ट हो, सामाजिक सञ्जालमा विरोध गर्नेहरुलाई मेरो भन्नु केही पनि छैन्।

उनले ६ वटा प्रदेशमात्रै नेपाल त होईन नि भनेर प्रश्न समेत तेर्साए । उनले भने,‘हाम्रो प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण भएसँगै यो भ्रमण तय भएको हो । उहाँको भ्रमण सफल बनाउन स्थानीय, प्रदेश र केन्द्रिय सरकार तीन वटैको जिम्मेवारी छ।’

मोदीलाई गरिने नागरिक अभिनन्दनमा भोलि लाखौं मान्छेको उपस्थिति हुनेपनि उनको विश्वास थियो । उनले थपे,‘तराईका सबै जिल्लाबाट जनता आउनुहुन्छ, ५ नम्बर प्रदेशबाट पनि नागरिकहरु आउनुहुन्छ, एक लाख मान्छेका उपस्थितिमा उहाँलाई हामी अभिनन्दन गर्छौं । जनकपुर उप–महानगरपालिकाको जनसंख्या नै झण्डै एक लाखको हाराहारीमा छ ।’

मोदीको भ्रमणलाई पूर्ण रुपमा सफल बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो । उनले भने,‘हामीमा त्यो किसिमको ईच्छाशक्ति छ।’ उनले मोदी र नेपालका प्रधानमन्त्री ओलीलाई भोलि जनकपुरमा भव्य स्वागत गरिने वचनवद्धता दोहोर्याए ।

भ्रमणको दौरान दुवै देशका प्रधानमन्त्रीले जनकपुरदेखि अयोध्यासम्म सिधा बस सेवालको अनुमति दिनेपनि उनको भनाई थियो । मोदीको भ्रमणले जनकपुर लगायत २ नम्बर प्रदेशको विकास हुने वा नहुने भन्दापनि आफूहरुको कल्चर भनेको पाहुनालाई स्वागत गर्ने रहेको सुनाए ।

उनले भने,‘हामी मिथिलावासीको कल्चर भनेको अथिति देवो भवः नै हो, हामी उहाँसँग केही पनि माँग्दैनौं, उहाँको सम्मान र स्वागतको लागि मात्रै हामीले यस्तो तयारी गरेको हो, किनकी भारतसँग हाम्रो देशको ऐतिहाँसिक सम्बन्ध छ, संसारमा यस्तो प्रगाढ सम्बन्ध भएका देश कहीँपनि छैन् । हामीबीच खुल्ला सिमाना छ । सम्बन्धलाई निरन्तर रुपमा अघि बढाउने हाम्रो उद्देश्य हो ।’

मोदी केन्द्रिय सरकारको निमन्त्रणामा नेपाल आउने भएकोले आफूहरुले भ्रमण सफल बनाउनको लागि र स्वागतको लागि फेसिलेट गरेको उनको भनाई थियो । उनले भने,‘उहाँलाई निमन्त्रणा केन्द्रिय सरकारको हो, स्थानीय र प्रदेश सरकारको काम भनेको फेसिलेट गर्ने हो । के कति खर्च हुन्छ, म पारदर्शीता अपनाउँछु ।’

त्यस्तै पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रदेश नम्बर २ कै अर्थ राज्यमन्त्री उषा यादवले मोदीको स्वागतको लागि व्यापक तयारी भएको जानकारी दिईन् ।

उनले भनिन्,‘हामीले अहिले तयारी व्यापक रुपमा गरिरहेका छौं । ठाउँ–ठाउँमा द्धार राखेका छौं । स्वागतमा मिथिला र मधेश झल्किने झाँकी राख्छौं, बाटो पर्ने ठाउँका घर घरमा कलश राखेका छौं ।’ मोदीको जनकपुर भ्रमण धार्मिक भएकोले यसले विश्वमै ठूलो र सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।

मोदी र ओलीले जानकी मन्दिरमा संयुक्त रुपमा पूजाआजा गर्ने र धार्मिक महत्व राख्ने अयोध्यादेखि जनकपुरसम्मको रामायण सर्किटको पनि उद्धघाट्न हुने भन्दै यसले जनकपुर लगायत मिथिलाको ठूलो विकास हुने जनाए ।



प्रतिक्रिया दिनुहोस्