वैशाख २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष थप अन्तर्राष्ट्रिय हवाई रुट प्रदान गर्न आग्रह गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा सम्पन्न द्विपक्षीय भेटवार्तापछि काठमाडौँको द्वारिकाज होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँग अन्तर्राष्ट्रिय विमानहरुलाई नेपाल प्रवेश गर्ने थप चार वटा रुट प्रदान गर्न आग्रह गरेको जानकारी दिँदै भारतले यसलाई गम्भिरतापूर्वक लिने आशा गरेको बताए ।
’मेरो भारत भ्रमणका क्रममा भएको छलफल अनुसार भारतले थप चारवटा एयर रूट प्रदान गर्नेमा विश्वस्त छु,’ ओलीले भने । यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यस विषयमा मौन रहे ।
यस अगाडि मोदीले जनकपुरमा भएको नागरिक अभिनन्दनका क्रममा एक घण्टा लामो सम्वोधनका क्रममा कनेक्टिभिटीका बहुआयामिक पक्षमा चर्चा गरे पनि एयर रूटको विषयमा भने कनै जवाफ दिएनन् ।
अहिले भारतबाट नेपाल प्रवेश गर्ने विमानहरुलाई एउटा मात्र रुट भारतले दिएको छ । नेपालले भने थप रुटको पनि माग गर्दै आएको छ ।
ओलीले तराईको बाढी पहिरोको समस्या समाधानका लागि आवश्यक कदम चाल्न सहमति भएको समेत जानकारी दिए ।
त्यस्तै महाकाली नदीमाथि चार लेनको मोटरेवल पुलको निर्माणका लागि भारतीय पक्षबाट डीपीआर निर्माण गरि छिट्टै कार्यान्वयन हुने आशा प्रधानमन्त्री ओलीले समेत व्यक्त गरे ।
संयुक्र पत्रकार सम्मेलनमा मोदीले ‘अखण्ड, समृद्ध र सशक्त नेपाल’को आकांक्षामा भारतको समर्थन रहेको बताएका छन् ।
मोदीले नेपालमा आफूलाई परिवारको सदस्यका रुपमा स्वागत भएको भन्दै खुसी व्यक्त गरे । नेपाली जनताले आर्थिक र सामाजिक परिर्वतनका लागि ओलीको नेतृत्व र भिजनमा विश्वास व्यक्त गरेको भन्दै उनले भने, संघीय लोकतान्त्रिक फ्रेमवर्कमा राष्ट्र निर्माण र विकासको फैसलाको म अभिनन्दन गर्छु ।
अघि भने, ‘एक अखण्ड, समृद्ध र सशक्त नेपालका लागि सबैको आकांक्षाको भारत भरपुर समर्थन गर्छ ।’
आफू र मोदीले नेपाल र भारतको साझेदारीका धेरै क्षेत्रमा कुराकानी गरेको र यसमा उल्लख्य प्रगति भएको बताए । नेपाल भारत सम्वन्धमा खुला सीमा विशेष भूमिका रहेको भन्दै यसलाई अवान्छित तत्वले दुरुपयोग गर्न नदिने बताए ।