काठमाडौँ, २९ वैशाख । नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा मोदीलई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदाई गरेका हुन् ।
प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए ।
काठमाडौँमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भएका थिए ।
नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौँमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुगेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे