Logo

मोदीको नेपाल भ्रमण ओलीको भारत भ्रमणको जवाफी भ्रमण हो : रिमाल



वैशाख ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक र उपलब्धिमुलक भएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले मोदीको भ्रमणलाई लिने दिनेभन्दा पनि सम्बन्ध सुधार बनाउनेतिर जोड दिइएको बताए ।

प्रधानमन्त्री ओलीको केही समयअघि भएको भारत भ्रमणको जवाफी भ्रमणको रुपमा मोदीको नेपाल भ्रमणलाई लिइएको रिमालको तर्क छ ।

“उताको भ्रमणपछि यताको भ्रमण भयो । यो भ्रमणको निरन्तरता पनि हो । धेरै औपचारिक भ्रमण बनाउन खोजेका थिएनौँ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको जवाफी भ्रमण हो ।” रिमालले भने ।

विगतमा भारत भ्रमणमा जाँदा सपिङ लिष्ट बनाएर जाने गरिएको भए पनि यसपटक त्यस्तो प्रवृत्तिको अन्त्य गरिएको उनको जिकिर छ ।

“मूल कुरा सम्बन्ध हो । सम्बन्ध राम्रो भयो भने सहयोग त भइहाल्छ ।” उनले भने ।

यसपटकको मोदीको नेपला भ्रमणका क्रममा विगतमा भएका सम्झौता र बाचा कार्यान्वयनलाई जोड दिइएको रिमालले बताए ।

सन्धी सम्झौता पुनरावलोकन गर्ने विषयमा किन कुरा भएन भन्ने धमलाको प्रश्नमा रिमालले भने, “नेपाल भारत प्रवुद्ध समुले काम गरिरहेको छ । त्यसैले कतिपय कुरामा प्रवेश नगरिएको हो । सबै विषयमा काम त भइरहेको छ नि ।”

रेलमार्ग र जलमार्गको विषयमा संयुक्त टिमले काम गर्ने सहमति भइसकेको उनको भनाई छ ।

“एक हप्ताभित्रमा नै थाहा पाउनुहुनेछ, रेलमार्गको सन्दर्भमा समझदारीपत्रमा हस्ताक्षर हुन्छ । भारतले ड्राफ्ट बनाएर नेपाललाई दिइसकेको छ । एक वर्षभित्रमा डिपिआर बन्छ । अर्को चुनावअघि नै रेल मार्ग बन्छ ।” उनले भने ।

भारतीय नोटको समस्याका बारेमा कानुनी बाटो खोज्ने सहमति भएको उनले जानकारी दिए ।

सिमानामा हुने समस्याका बारेमा के कुरा भयो भन्ने प्रश्नमा रिमालले पञ्चायतकालको जस्तो विन्तिपत्र हाल्ने कुरा आफूहरुले नगरेको बताए । अहिलेको सरकार सबै समस्या टेबलबाटै समाधान गर्ने मुडमा रहेको उनको भनाई छ ।

मोदीलाई गरिएको सम्मान र नागरिक अभिनन्दनप्रति सर्वसाधारणको विरोध हुनुलाई रिमालले नागरिकहरु नै विभाजित भएको अवस्थामा समर्थन र विरोध दुवै हुनु सामान्य भएको बताए ।

दुवै प्रधानमन्त्रीले जानकी मन्दिरमा जाँदा लगाएको एउटै पोषाकबारे रिमालले भने, “कुटनीतिक सम्बन्ध सुधारका विभिन्न तरिका हुन्छन्, उस्तै पोषाक लगाउने तरिका हामीले प्रयोग गरेका हौँ । यसलाई धेरै अन्यथा लिनुहुँदैन । अरु देशमा कसैले यही गरेको भए कस्तो राम्रो भनेर भन्थे ।”

दुईदेशबीचमा असमझदारी हुनुपर्ने कुनै कारण छैन भन्ने निष्कर्षमा मोदी र ओली पुगेको रिमालको दाबी छ ।

तराई क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि छिटै काम सुरु हुने सहमति भएको रिमालको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्