Logo

एमाले–माओवादी एकता : अब प्रचण्डले के गर्लान् ?



काठमाडौं, १ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियामा अहिले ब्रेक लागेकोजस्तो देखिएको छ । दुवै पार्टीका नेताहरु आ–आफ्नै पारामा अघि बढिरहेका छन् । पार्टी एकताबारे पनि उनीहरुको फरक–फरक अभिव्यक्तिहरु आईरहेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच केही दिन यता एकतालाई लिएर भेटवार्ताहरु समेत हुन सकेका छैन् ।

स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर रुष्ट बनेका छन् । उनले आफू निकटका नेताहरुसँग यो कुराको गुनासो पोखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुपुर्व प्रचण्डलाई संकेत गर्दै ओलीले आफ्नो ट्वीटरमा लेखेको भन्दै माओवादी केन्द्रका नेताहरुले आपत्ति समेत जनाएका थिए । यद्धपी प्रधानमन्त्री ओलीले भने आफूले प्रचण्डलाई ईंगित गर्दै त्यस्तो नलेखेको दाबी गरेका थिए ।

यस विषयलाई लिएर प्रचण्डले ओलीलाई बालुवाटारमै गएर कुरा गरेका थिए । भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रम माथिको छलफलपश्चात वातावरण सहज बनेको दुवै पक्षले दाबी गरेका थिए ।

तर, अहिले पनि प्रचण्ड ओलीको कार्यशैली र प्रस्तुतिबाट सन्तुष्ट छैनन् । एकतालाई लिएर प्रचण्डले अहिले आफू निकटका नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन् । आजमात्रै प्रचण्डले ओली सरकारका प्रभावशाली मन्त्री एवम् माओवादी नेता वर्षमान पुनसँग लामो छलफल गरेका थिए ।

स्रोतले दिएको जानकारी अनुसार एकतालाई लिएर प्रचण्ड अहिले द्धिविधामा छन् । उनले महाधिवेशनपछि एकीकृत पार्टीको अध्यक्ष नपाए अहिले सजिलै एकतामा जान नसकिने धारणा बनाएका छन् । प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘प्रचण्ड सजिलै एकता गर्ने पक्षमा हुनुहुन्न, प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद सुरक्षित नभएस्म्म एकता भैहाल्ने अवस्था छैन, यसको लागि एमालेसँग गम्भिर छलफल चलिरहेको छ।’

अहिले चलिरहेको एकता मोडेल अनुसार एकता भैहाल्छ भन्ने पक्षमा माओवादी केन्द्रका नेताहरु छैनन् ।

प्रचण्डले आफू निकटका नेताहरुसँग हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा आफूसँग धरै राम्रो कुराकानी भएको समेत सुनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्